काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप पौने ७५ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढदै गइरहेको छ । वाणिज्य बैंकमा मात्रै कात्तिक दोस्रो हप्तासम्म ६७ खर्ब १७ अर्ब निक्षेप संकलन भएका छन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएका छन् । वाणिज्य बैंकहरुले मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् ।
कर्जाको माग नभएकाले बैंकहरुबाट प्रवाहित हुने कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर हरेक महिना घट्दै गएको छ । कात्तिक महिनाको लागि बैंकहरुको निर्धारित औसत ब्याजदर ५.६७ प्रतिशत ब्याजदर धेरै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएकोमा पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आए पनि कर्जा प्रवाह अपेक्षा अनुसार बढ्न सकेको हो ।
यस्तै जेनजी आन्दोलनमा निजी क्षेत्रका घरानामाथि भएको आक्रमणले लगानीकर्तालाई आतंकित बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने अवस्था नभएको  नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानेको तानेकै छ । बजारमा कर्जाको माग बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिँदै गएको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । यस्तै सोही अवधिमा ४० अर्ब रुपैया ४२ दिनका लागि पनि राष्ट्र बैंकद्वारा संकलन गरिएको छ ।
त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालीन रुपमै निक्षेप व्यवस्थापनमा लागेको देखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij