Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

पहिलो त्रैमासिकमा करिब एक खर्ब राजस्व कम संकलन

पहिलो त्रैमासिकमा करिब एक खर्ब राजस्व कम संकलन

  • काठमाडौँ । पहिलो तीन महिनामा सरकारलाई करिब १ खर्ब राजस्व कम उठेको छ ।  सरकारी निकायहरुले प्रभावकारी रुपमा राजस्व उठाउने काममा  ध्यान नदिदाँ लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको देखिएको हो ।अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  सरकारले २ खर्ब ४९ अर्ब मात्रै राजस्व उठाएको छ । असोज मसान्तसम्म  सरकारले ३ खर्ब २१ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य लिएको  थियो । तर गत  आर्थिक वर्षको सोही  अवधिको तुलनामा राजस्व संकलन केही बढेको छ ।

    गत आर्थिक वर्षको असोजसम्ममा सरकारले २ खर्ब ४८ अर्ब राजस्व उठाएको थियो । गत आवको सोही अवधिको तुलनामा राजस्व वृद्धिदर ०.३२ प्रतिशतले बढेको छ । सरकारी संयन्त्र राजस्व संकलन गर्न तदारुकताका साथ नलागेको प्रष्ट देखिएको पर्यवेक्षकहरू बताउँछन् । चालु आवमा सरकारले १४ खर्ब ८० अर्बको राजस्व संकलनको लक्ष्य लिएको छ । असोज मसान्त सम्ममा राजस्वका कुनै पनि शीर्षकमा उत्साहजक रुपमा राजस्व संकलन नभएको अर्थमन्त्रालयको तथ्यांकले नै दर्शाउँछ ।

    अर्थमन्त्रालयकाअनुसार असोज मसान्तसम्म भन्सार महसुल ७० अर्ब भन्दा बढी उठाउने सरकारले लक्ष्य राखेकोमा ५६ अर्ब ८५ करोड मात्रै संकलन गरेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) ९४ अर्ब ११ करोडको लक्ष्य असोज मसान्तसम्मको थियो । जसमा ८१ अर्ब २३ करोड मात्रै उक्त शीर्षकमा राजस्व उठेको छ ।  

    समिक्षा अवधिमा अन्तशुल्कतर्फ ४८ अर्ब ६५ करोडको लक्ष्य रहेकोमा ४७ अर्ब ८३ करोड राजस्व संकलन भएको छ । यो शिर्षकमा पनि लक्ष्यअनुसार राजस्व उठाउन सरकारी संयन्त्रहरु चुकेका छन् । आयकरतर्फ ७१ अर्ब २२ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा ४६ अर्ब ९० करोड मात्रै राजस्व संकलन भएको छ । गैरकर तर्फपनि लक्ष्यअनुसार राजस्व उठेको छैन । अर्थमन्त्रालयका अनुसार ३५ अर्ब ५२ करोडको लक्ष्य असोज मसान्तसम्म गैरकरतर्फ उठाउने रहेकोमा १४ अर्ब ७२ करोड मात्रै संकलन भएको छ । पहिलो तीन महिनामा  राजस्वका लक्ष्य प्राप्त गर्न नसक्दा  आगामी दिनमा सरकारलाई चालु खर्च धान्न समेत राजस्वले नपुग्ने खतरा उत्पन्न भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij