काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २५ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान
टक्सार । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौँ हुँदै आएकामा अब चार उडान हुनेछन् ।
प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब मङ्गलवार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो ।
नेपाल–रसिया वैज्ञानिक सहकार्य सुदृढ गर्न ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा जोड
काठमाडौँ । नेपाल–रसियाका वैज्ञानिकहरूबीचको सम्बन्ध सुदृढ बनाउन ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । ‘नेपाल–रसिया वैज्ञानिक तथा प्राविधिक सम्बन्ध स् विज्ञान–कूटनीतिको माध्यमबाट विश्वास र सहकार्य निर्माण’ विषयक छलफलमा सहभागी वक्ताहरूले दुई देशका वैज्ञानिकहरूबीचको सहकार्यले कूटनीतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।
आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन स् चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन
भेरीगङ्गा ।सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो । तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ । दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिनुभयो ।
सीमा समन्वयात्मक बैठकमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । महानिरीक्षक अर्यालको भ्रमण टोलीमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत सहभागी रहनुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गर्नुभएको हो । छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राख्नुभएको थियो । उहाँले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राख्नुभएको थियो ।
नेवासेनिका महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति ढिलाइबारे प्रधानमन्त्रीद्वारा चिन्ता व्यक्त
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति ढिलाइबारे चिन्ता व्यक्त गरेकी छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर केही प्रगति नभएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ ।
यसैगरी भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिए ।
मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा मङ्गलबार आयोजित एक समारोहमा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका राष्ट्रपति पौडेलले नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मधेश प्रदेशका७४ जना सांसदद्वारा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं । एमालेबाहेकका दलहरूले मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार ७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा मुख्यमन्त्री नियुक्ति संविधानविपरीत भएको दाबी गरिएको हो ।
रिट दायर गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायतका दलहरू छन् । उनीहरूले प्रदेश प्रमुखले संविधानको मर्म र प्रावधान विपरीत एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त
काठमाडौँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गरेको हो ।
माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त गरिएको हो । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिन लागेको छ ।
शेयर बजार : नेप्से सूचक ३.२१ अंकले उकालो, कारोबार रकम ३ अर्ब ६२ करोड
काठमाडौँ । सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३.२१ अंकले वृद्धि भई २,५६५.१६ अंकमा पुगेको छ। यो ०.१२ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा कुल कारोबार रकम ३ अर्ब ६२ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेको छ।
आज बजारमा १४२ कम्पनीका सेयर मूल्य बढेका, १०२ कम्पनी घटेका, र १० कम्पनी स्थिर रहेका छन्।
कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार
थाइल्यान्ड ।थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।
कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड सीमामा रहेका अधिकांश बारुदी सुरुङ् कठिन भूभाग र सीमा क्षेत्रको स्थितिका कारण अझै सफा नगरिएको हाल बिस्पोट भएको हुन सक्ने विषयलाई नजर अन्दाज गर्न नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु हुने : अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाहरूको पुनर्निर्माण कार्य दुई महिनापछि सुरु हुने जानकारी दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खनालले सिंहदरबारभित्रका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण हालकै बजेटभित्रबाट सुरु गरिने बताएका हुन्।
साञ्जेन जलविद्युतले पहिलो त्रैमासमा १५ करोड नाफा कमायो, आम्दानीमा ७७९ प्रतिशत वृद्धि
काठमाडौँ ।साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कम्पनीले चालु आवको पहिलो तीन महिनामा ५५ करोड ७९ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिका ६ करोड ३४ लाख रुपैयाँको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो। आम्दानी बढेसँगै कम्पनी नोक्सानीबाट नाफामा रूपान्तरण भएको छ — गत आवको असोज मसान्तसम्ममा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिमा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
साहस उर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा
काठमाडौँ — साहस उर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। साथै, उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.१०५३ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ।
कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांश वितरण प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावित लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
राजस्व प्रशासनमा अर्थशास्त्र र व्यवस्थापनतर्फका विषय पढ्नेहरूलाई मात्र प्रवेशको व्यवस्था
काठमाडौँ । अर्थ मन्त्रालयले राजस्व प्रशासनमा प्रवेश गर्न अर्थशास्त्र र व्यवस्थापनतर्फका विषय पढेका जनशक्तिले मात्र लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ ।यसअघि जुनसुकै विषयमा तोकिएको योग्यता पूरा गरेका व्यक्तिले पनि राजस्व समूहमा प्रवेश गर्न पाउने प्रावधान हटाएर अर्थशास्त्र र व्यवस्थापन पढेकाहरूका लागि आरक्षित गरिएको हो ।
नयाँ प्रावधानअनुसार उपसचिवका उम्मेदवारले व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । अथवा जनप्रशासनतर्फ सार्वजनिक वित्त र लेखा विषयमध्ये कुनै एकमा स्नातकोत्तर पूरा भएको परीक्षामा सहभागी हुन योग्य मानिनेछ।
मंगलबार सुनको मूल्य बढेर तोलाको २ लाख ४६ हजार ४०० रुपैयाँ कायम
काठमाडौँ । मंगलबार सुनको मूल्य बढेर तोलाको २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । बढेसँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोडिने प्रक्रिया बढ्यो
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ ।
बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति
सिरहा । मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij