काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि रु.१७ करोड ६० लाख बराबरको प्राथमिक सार्वजनिक निष्काशन जारी गर्ने भएको छ।
यस प्रयोजनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको अधिकृत तथा जारी पूँजी रु। ८० करोड रहेको छ, जसअन्तर्गत जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ लाख ६० हजार कित्ता सेयर (प्रति अंकित मूल्य रु.१००० विभिन्न समूहमा वितरण गरिनेछ।
सेयर आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोषहरू, कम्पनीका कर्मचारीहरू, र सर्वसाधारण लगानीकर्ताहरूलाई तोकिएको अनुपातमा वितरण गरिनेछ।
कात्तिक २६ गते सम्पन्न सम्झौतामा, फेदीखोला हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका थिए।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा निर्माणाधीन ४.३ मेगावाटको फेदी (थुमलुङ) जलविद्युत आयोजनाको कुल लागत करिब रु ९४ करोड रहेको छ। हालसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र आयोजना २०८२ माघभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij