काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ३० आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
निर्वाचन आयोगमा १२२ राजनीतिक दल कायम, नयाँ दल दर्ता र खारेजीको प्रक्रिया निरन्तर
काठमाडौँ । निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिनुभयो । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति उल्लेख्यरूपमा बचतमै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रू पाँच अर्ब ५५ करोड रहेको छ । त्यस्तै, पछिल्लो तीन महिनामा रू एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तसम्ममा शोधनान्तर स्थिति रू दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ ।
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक : अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति ९घरजग्गा० बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उहाँले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताउनुभयो । अर्थमन्त्री खनालका अनुसार घरजग्गा कारोबारमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेशमार्फत कानुनमा आवश्यक परिवर्तन गर्न सक्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । “घरजग्गा कारोबार सहज बनाउनका लागि अध्यादेशमार्फत केही व्यवस्था गर्ने वा सरकारले कार्यकारिणी अधिकार प्रयोग गरेर पनि सुधारका काम गर्न सक्छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई आचारसंहिता कडाईका साथ पालना गर्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचारण पालना गर्न निर्देशन गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारणसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताउनुभयो ।
अख्तियारले मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाएको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बारामा आर्थिक वर्ष २०७९÷८० का विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो ।
बैंकहरुले सेयर धितोमा करिब सवा चार अर्ब ऋण लगानी बढाए
काठमाडौँ । बैंकहरुले सेयर धितोमा ऋण लगानी बढाएका छन् । चालु आर्थिक वर्ष (आव) पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा ४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ ऋण लगानी बढाएका हुन्।
सेयर धितोमा बैंक तथा वित्तीय संस्थाको लगानी असोज मसान्तसम्म १ खर्ब ४४ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ।बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गरेको ऋण गत असारसम्मको तुलनामा ३ प्रतिशत बढी हो । असार मसान्तसम्म सेयर धितोमा बैंकहरूको ऋण लगानी १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो।
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँपुस्ताको भावना अनुरूप काम गर्दै उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । आज गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउनुहुँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । “अहिलेको सरकार निर्वाचनको सरकार हो । त्यसैले पुरानै संरचना वा ऐन–नियममा सीमित भएर मात्र होइन, प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी वहन गर्नुपर्छ,” मन्त्री अर्यालले भन्नुभयो । उहाँले विभागीय प्रमुखहरुलाई मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्पादन गर्न निर्देशन दिनुहुँदै सेवा प्रवाहमार्फत परिवर्तनको अनुभूती दिलाउन निर्देशन दिनुभयो ।
बागमती प्रदेशको चालु र पूँजीगत गरी साढे ७ अर्ब कटौती
हेटौंडा । बागमती प्रदेश सरकारले चालु र पूँजीगत गरी साढे ७ अर्ब कटौती गरेको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो कटौती गरेको हो ।
मन्त्रालयका सचिव झलकराम अधिकारीले सार्वजनिक गरे अनुसार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालुतर्फ २ अर्ब ३१ करोड र पूँजीगततर्फ ५ अर्ब २१ करोड बजेट कटौती गरेको छ ।
पूँजीगततर्फ ५ अर्ब २१ करोड २० लाख ६८ हजार रुपैयाँ र चालुतर्फ २ अर्ब ३१ करोड ४ लाख ४ हजार रुपैयाँ बजेट कटौती गरिएको हो ।
सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै
राँझा (बाँके) ।नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताउनुभयो । पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।
घुन्सा र फलेटारमा स्याउ फल्यो : व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार
फुङ्लिङ (ताप्लेजुङ)। यहाँको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीय आशावादी बनेका छन् । हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ । फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो । मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो । पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारी तथा पुतली सहयोग आयोजनाको सहकार्यमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुईदुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ ।
शेयर बजार : नेप्से परिसूचक ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा, कारोबार ३ अर्ब ८९ करोड बढी
काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट देखा परेको छ।आइतबार नेप्से परिसूचक ५.१५अंकले घटेर २५४४.५७ बिन्दुमा झरेको हो ।
आइतबार कारोबार ३ अर्ब ८९ करोड बढी भएको नेप्सेले जनाएको छ । सो कुल कारोबारका ७९ लाख ५७ हजार बढी कित्ता शेयरको खरिद बिक्री भएको हो
पहिलो तीन महिनामा मूल्यवृद्धि १.४७ प्रतिशतमा सीमित
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । यसको मतलब भान्साको खर्च सस्तो भएको दर्शाउँछ ।
नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न भारतको प्रस्ताव
काठमाडौँ । भारतले नेपाल पक्षलाई नेपाल–भारत सीमाबाट आउजाउ गर्नेहरूको विवरण राख्न प्रस्ताव गरेको छ । भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनले नयाँ दिल्लीमा आयोजित नवौँ सीमा सुरक्षा समन्वयात्मक बैठकमा सो प्रस्ताव राखेका हुन् । नाकाबाट आउजाउ गर्नेहरूको अभिलेख राख्ने सचिवस्तरीय प्रस्तावमा निर्णय भने भैसकेको छैन ।
सांग्रिला डेभलपमेन्ट बैंक, आशा लघुवित्त र नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ ।
आइतबार सुनको मूल्य घटेर फेरि अढाई लाख मुनि, तोलाको २ लाख ४९ हजार ७०० रुपैयाँ कायम
काठमाडौँ । आइतबार सुनको मूल्य घटेर फेरि अढाई लाख मुनिझरेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आज घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
अधिकांश वाणिज्य बैंकहरूले मंसिरमा पनि व्याज दर घटाए
काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि नयाँ विदेशी मुद्राको विनिमयदर सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६८९ र महिला एक हजार ४३६ रहेका छन् ।
मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८०३ र अन्य एक जना छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij