Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

जेन-जी आन्दोलनको बीचमा छुटाइएका एसएसपी विश्व अधिकारी फेरि डीआईजीमा बढुवाका लागि सिफारिस

जेन-जी आन्दोलनको बीचमा छुटाइएका एसएसपी विश्व अधिकारी फेरि डीआईजीमा बढुवाका लागि सिफारिस

  • गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जनाको हताहती भएको घटनाका बीच त्यतिबेला काठमाडौं प्रहरी परिसरका प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ।

    कात्तिक १० गते गरिएको बढुवा प्रक्रियामा पहिलो नम्बरमा रहे पनि अधिकारीलाई तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले रोकिदिएका थिए। आन्दोलनका क्रममा दमनका आरोपमा छानबिन जारी रहेको कारण देखाउँदै अन्तरिम सरकारले अन्य पाँचजना एसएसपीलाई मात्र स्तरोन्नति गरेको थियो।

    त्यसबेला डीआईजी बढुवाको सूचीमा पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रो सानुराम भट्टराई, तेस्रो ओम अधिकारी, चौथो शेखर खनाल र पाँचौँ अभिनारायण काफ्ले थिए। तर पहिलो नम्बरमा परेका अधिकारीलाई रोकिँदा उनी बढुवाबाट वञ्चित बनेका थिए।

    तर सोमबार प्रहरी प्रधान कार्यालयले पुनः अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन अझै सार्वजनिक नभइसकेको अवस्थामा नै अधिकारीले डीआईजीको फुली लगाउने लगभग निश्चित भएको बताइएको छ।

    गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयमा बसेको बैठकले जनपद प्रहरी समूहबाट एक जना एसएसपीलाई डीआईजी पदका लागि सिफारिस गरेको जानकारी दिएको छ। समितिका अनुसार अधिकारीले ७५ मध्ये ७२.२४ अंक प्राप्त गरेका छन्।

    जेन–जी आन्दोलनपछि काठमाडौंबाट सरुवा गरिएका अधिकारी हाल बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडामा कार्यरत छन्।

    भदौ २३ गते संसद् भवनबाहिर भएको जेन–जी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर १७ जना घटनास्थलमै मारिएका थिए, जबकि ५ जनाले उपचारका क्रममा ज्यान गुमाएका थिए। उक्त घटनापछि गृहमन्त्री अर्यालले एसएसपी अधिकारीसहित काठमाडौं प्रहरी परिसरका सबै प्रहरी अधिकृतहरूको भूमिकामाथि प्रश्न उठाउँदै ठूलो फेरबदल गरेका थिए।

    यदि त्यतिबेला बढुवा प्रक्रिया नरोकेका भए अधिकारी कात्तिक १० कै निर्णयबाट पहिलो नम्बरमा डीआईजी बन्ने थिए। उनी यसअघि पनि २०८० वैशाख २४ गतेको एसएसपी बढुवामा पहिलो नम्बरमै परेका थिए। २०५५ साल कात्तिक १ गते प्रहरी सेवामा प्रवेश गरेका अधिकारीले २०५६ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्दै सेवा यात्रामा उल्लेखनीय छलाङ मारेका थिए।

    bishwo-adhikari.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij