काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाण्डूले १८ ओभरमै पाँच विकेट गुमाउँदै सहजै पूरा गर्यो।
काठमाण्डूका लागि ओपनर बेन चार्लेस्वर्थले विस्फोटक ४६ रन बनाउँदै जितको आधार निर्माण गरे। उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे भने अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन जोडी उत्कृष्ट साझेदारी बनाएका थिए। दुवैले पहिलो विकेटका लागि ७० रनको महत्त्वपूर्ण पार्टनरशिप गर्दै टिमलाई बलियो सुरुआत दिलाए। मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३ तथा आदिल आलम र गेरहार्ड इरास्मस क्रमशः ८ र १ रनमा अविजित रहे।
जनकपुरका कप्तान अनिल साहसहित किशोर महतो, ललित राजवंशी र सञ्जय कृष्णमूर्ति सबैले एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ६ विकेटका क्षतिमा १३१ रन बनाएको थियो। ओपनर आसिफ सेखले ५४ रनको आकर्षक इनिङ खेलेका थिए, जुन एनपीएलमा उनको पहिलो अर्धशतक पनि हो। मयन यादवले ३४ तथा लाहिरु समाराकोनले २२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक छुन नसक्दा जनकपुर ठूलो स्कोर बनाउनबाट चुकेको थियो। कप्तान अनिल साह शून्यमै फर्किएका थिए।
काठमाण्डूका मिलिन्द कुमारले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १५ रन खर्चिएर तीन विकेट लिए। करण केसी, साहब आलम र सन्तोष यादवले एक–एक विकेट हात पारे।
लिगअन्तर्गत जनकपुरले आगामी सोमबार विराटनगर किंग्ससँग भिड्नेछ भने काठमाण्डूले बुधबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij