काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले कपडा व्यापारीको घरमा छापा हानेको छ । कपडा व्यापारी बब्लु अग्रवालको घर र गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले आज बिहान छापा हानेको हो । कपडा कारोबारी अग्रवाल फरार भएको बताइएको छ । जाडोका लागि भारतबाट भन्सार छली गरी ल्याइएका महँगा कुर्ता–सुरुवाल अग्रवालले काठमाडौँ पठाउने तयारी गरिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोलीले विराटनगर एयरपोर्टको कार्गो क्षेत्रमा छापा मार्दा ८९ थान ‘उनीयु’ ब्रान्डका कुर्ता–सुरुवालसहित दुई बोरा कपडा बरामद गरेको थियो ।
विराटनगर–४, गणेशचोकस्थित बब्लु अग्रवालको निवास तथा गोदाममा गरिएको खानतलासीका क्रममा थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल फेला परेको मोरङ प्रहरीले जनाएको छ। बरामद भएका कपडाको बजार मूल्य प्रतिथान चारदेखि पाँच हजार रुपियाँ पर्ने अनुमान छ, जसअनुसार कुल बरामद कपडाको मूल्य लाखौंमा पुग्ने देखिएको छ ।प्रारम्भिक अनुसन्धानबाट बब्लु अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छलेर लत्ताकपडा नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij