Logo

Nov 19 2025 | २०८२, मंसिर ३गते

Nov 19 2025 | २०८२, मंसिर ३गते

images

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

  • दोधारा चाँदनी । सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् ।

     कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताउनुभयो । “सुरुमा मङ्सिर ३ गतेसम्मको टोकन बाडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा भइसक्यो भनेर टोकन दिइएन”, उहाँले भन्नुभयो, “खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।” 

     उहाँजस्तै धान बिक्रीका लागि टोकन माग्दै किसानहरू दिनहुँ खाद्य कम्पनीको कार्यालयमा पुगिरहेका छन् । “खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले किसानलाई मूल्य नदिने, हामी जहिल्यै मार्कामा पर्छौँ”, किसान विष्णु पन्तले भन्नुभयो, “धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।” 

     खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजसम्म (मङ्सिर ३ गते) का लागि एक साताअघि नै टोकन वितरण गरिसकिएको जनाएको छ । कम्पनीका प्रमुख महिकिरण महराले पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएकाले सोभन्दा बढी खरिद गर्न नसकिएको बताउनुभयो । “विगतका वर्षहरूमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा थियो, कम किसान आए”, उहाँले भन्नुभयो, “यस पटक कोटा कम छ । कोटा नबढेसम्म धान खरिद गर्न सकिँदैन ।” 

     उहाँका अनुसार हालसम्म २१४ किसानले धान बिक्रीका लागि नाम टिपाएका छन् । “गत वर्ष कोटाअनुसार धान खरिद नभएपछि हामीले बाहिरबाट चामल खरिद गर्नुप¥यो, उक्त चामल महँगो भएकाले अहिलेसम्म बिक्री हुन सकेको छैन”, प्रमुख महराले भन्नुभयो । 

     खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरू यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विन्टल रु दुई हजार ४००–दुई हजार ५०० सम्ममा धान खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विन्टल मोटो रु तीन हजार ४६३ र मध्यम रु तीन हजार ६८८ मा खरिद गरिरहेको छ ।
     
     गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । त्यतिबेला रु तीन हजार ३०० क्विन्टल मात्रै खरिद भएकाले यसपटक कोटा घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij