काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र भयरहित बनाउन नेपाली सेना परिचालनका लागि सरकारलाई औपचारिक सिफारिस गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकले संविधानको धारा २६६(१) अनुसार नेपाली सेना परिचालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
रक्षा मन्त्रालयका सचिव तथा परिषद्का सदस्य–सचिव सुमनराज अर्यालद्वारा जारी विज्ञप्तिमा, निर्वाचनका बेला हुनसक्ने सुरक्षा चुनौती, जोखिम र सम्भावित अवरोधका क्षेत्रमा सेना परिचालन आवश्यक ठहरिएको उल्लेख छ।
बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका प्रभावबारे विस्तृत छलफल गरिएको थियो। सुरक्षामा देखिनसक्ने चुनौती र आगामी रणनीतिबारे पनि प्राथमिकता तय गरिएको परिषद्को भनाइ छ।
यस्तै, परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व. २०८१र८२) को मस्यौदामाथि छलफल गरिँदै आवश्यक संशोधनसहित स्वीकृत गरिएको छ। अब प्रतिवेदन संविधानको धारा २६६(३) बमोजिम राष्ट्रपतिसमक्ष बुझाइनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij