Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

दुई कारोबार दिनदेखि सेयर बजारमा सकारात्मक लय, राजनीतिक स्थिरता र नीतिगत सुधारले बढायो आत्मविश्वास

दुई कारोबार दिनदेखि सेयर बजारमा सकारात्मक लय, राजनीतिक स्थिरता र नीतिगत सुधारले बढायो आत्मविश्वास

  • काठमाडौँ । पछिल्ला दुई कारोबार दिनयता सेयर बजार सकारात्मक लयमा अघि बढ्दै आएको छ। लामो समयदेखि साइडवेमा रहेको नेप्से परिसूचकले एकैपटक ९० अंकको सुधार गर्दै उकालो यात्रातर्फ मोडिएको छ। सूचकसँगै कारोबार रकम बढिरहेको देखिनु बजार स्थायित्वको संकेत भएको लगानीकर्ताहरूको बुझाइ छ।

    बजारसँग सम्बन्धित नीतिहरू क्रमशः सहज बन्दै गएपछि लगानीकर्तामा विश्वास बढेको तर्क गरिन्छ। लगानीकर्ता तारा फुल्लेलका अनुसार राजनीतिक गतिविधिको दबाबकै कारण बजार पहिले थामिएको थियो। तर पछिल्ला दिन राजनीतिक तरंग सकारात्मक बन्दै गएपछि बजारमा सुधार देखिन थालेको उनले बताए।

    देशमा आउने निर्वाचनले राजनीतिक निकासको मार्ग प्रशस्त गर्ने अपेक्षामा दलहरू आन्तरिक तयारीमा जुटेका छन्। नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता पुनः गरेको छ भने नेकपा एमालेले पनि आगामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै अघि बढ्ने संकेत दिएको छ। यिनै गतिविधिले लगानीकर्ताको आत्मविश्वास थप उकासिएको फुल्लेलको धारणा छ।

    यस्तै, चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा हुने क्रममा छ। नेपाल राष्ट्र बैंकले लचिलो नीति ल्याउने अपेक्षा गरिएको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त रहेको र बैंकहरूले उपलब्ध तरलता परिचालन गर्न नसकेको अवस्थालाई मौद्रिक नीतिले सहज बनाउने विश्वास लगानीकर्ताले व्यक्त गरेका छन्। गैरआवासीय नेपालीलाई पनि शेयर बजारमा सहज कारोबारको वातावरण बनाउनुपर्ने माग फुल्लेलले दोहोर्‍याए।

    नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले राजनीतिक अस्थिरताका कारण लगातार दबाबमा रहेको बजार हाल पुनः सुधारतर्फ उन्मुख भएको बताए। कम्पनीहरूले लाभांश वितरण गर्ने समय, बैंकको न्यून ब्याजदर, सस्तोमा धितो कर्जा, पर्याप्त तरलता र अन्य क्षेत्रमा कर्जा माग कम हुनुजस्ता कारणले पनि बजारमा सकारात्मकता थपिएको पाण्डेको तर्क छ।

    लगानीकर्ताले वर्षौंदेखि माग गर्दै आएको नेप्से पुनर्संरचना प्रक्रिया पनि अगाडि बढिरहेका कारण बजारको दीर्घकालीन विकासमा सहयोग पुग्ने अनुमान गरिएको छ। यसअघि दुर्गा प्रसाईंको आन्दोलन र राजनीतिक अस्थिरताका कारण बजारमा दबाब रहँदा लगानीकर्ता त्रसित थिए। तर प्रसाईंले आन्दोलन नगर्ने घोषणा र स्थिर हुँदै गएको राजनीतिक वातावरणले बजारमा पुनः विश्वास जगाएको विश्लेषण गरिन्छ।

    समग्रमा, नीतिगत सुधार, राजनीतिक स्थिरताको संकेत र आर्थिक पक्षबाट मिलेको सहज वातावरणले सेयर बजारमा सकारात्मक धार बढाएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij