Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास


नया सडक

२०८०, माघ १४ आइतबार

  • 1.0k
    Shares

  • विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

    काठमाडौँ  ।अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समिति बनाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कार्यस्थलमै एकअर्कामाथि हातपात भएको थियो । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीले बताएको छ । सीसी क्यामरा फुटेजमा समेत मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपातको दृश्य सार्वजनिक भएको छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् ।

    शुक्रबार दिउँसो १२ बजे अध्यागमन अधिकृत मोक्तान विमानस्थलको आगमन कक्षबाट प्रस्थान कक्षतिर जाँदै गर्दा एक प्रहरी जवानसँग विवाद सुरु भएको थियो । मेटल डिटेक्टर भएको स्थानमा प्रहरीले शरीर खानतलासी गर्न खोज्दा विवाद भएको भिडियोमा देखिन्छ । त्यसपछि एकअर्कालाई हात र लात्तीले हानेका थिए । त्यसपछि त्यहाँ प्रहरी अधिकृत र अन्य कर्मचारीसमेत भेला भएर हूलहुज्जत भएको थियो ।

    भिजिट भिसाका नाममा मानव तस्करी अनियमिततामा छानबिन, अनुसन्धान र त्यसपछि कडाइ गर्दा विमानस्थलका प्रहरी र कर्मचारीबीच अविश्वास बढ्दै गएर हातपातको अवस्थासम्म पुगेको गृह मन्त्रालयका अधिकारीहरूले बताए । अध्यागमन कर्मचारी र प्रहरी दुवैले यसलाई स्वीकार गरेका छन् । ‘मूल गेटमा जाँच गराएर ड्युटीमा पुगेपछि मेटल डिटेक्टरमा परीक्षण गराएर एक कोठाबाट अर्को कोठामा जाँदा पनि प्रहरीले शरीर छामछुम गर्न थाल्यो,’ अध्यागमनका एक अधिकृतले भने, ‘प्रहरीले कर्मचारीलाई हैरानी नै दिन थालेपछि आक्रोश सार्वजनिक भएको हो ।’

    भिजिट भिसा अनियमिततामा कर्मचारीलाई मात्रै निसाना बनाएर प्रहरीले एक महिनादेखि जाँच बढाएको ती अधिकृतले बताए । ‘हाम्रो ड्युटी कि आगमन कक्षमा पर्छ, कि प्रस्थान कक्षमा । त्यहाँसम्म जाँच गराएरै जान्छौं,’ उनले कान्तिपुरसित भने, ‘पानी पिउन, पोसाक चेन्ज गर्न, भेटघाट गर्न एउटा कक्षबाट अर्को कक्षमा जाँदा पनि दुर्व्यवहार गर्ने तरिकाले शरीर खानतलासी लिएर प्रहरीले दुःख दिने क्रम बढ्दै गएको छ ।’ शुक्रबार अध्यागमन अधिकृतको परिचय दिँदादिँदै शरीर छाम्न आएका जवानले अपशब्द बोल्दै पहिले हात छाडेको कर्मचारीको आरोप छ ।यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस