Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एनआरएनए विवाद छानबिन समितिलाई अदालतको मार्ग प्रशस्त 


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 699
    Shares

  • एनआरएनए विवाद छानबिन समितिलाई अदालतको मार्ग प्रशस्त 
    फाइल फोटो

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादका सम्बन्धमा छानबिन गर्न सरकारले बनाएको समितिलाई अदालतले मार्ग प्रशस्त गरिदिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार गठन भएको छानबिन समितिलाई उच्च अदालत पाटनले स्वीकार गर्दै अन्तिम निर्णय हुँदा ठहर भएबमोजिम हुने आदेश दिएको हो । 
    उच्च अदालत पाटनले आइतबार एनआरएनएको गत अक्टोबरमा भएको निर्वाचनको सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दा संघको जारी विवादबारे पनि ‘नोटिस’ गर्दै समितिले गर्ने कामलाई गति दिन ग्रिन सिग्नल दिएको हो ।  वरिष्ठ अधिवक्ता गोविन्द बन्दीका अनुसार संघको निर्वाचनसम्बन्धी विवादबारे मन्त्रिपरिषदको बैठकबाट छानबिन समिति नै गठन भइसकेकाले अन्तरिम आदेशको माग गरेको विषयमा रिट निवेदनको अन्तिम निर्णय हुँदा ठहर भएबमोजिम नै हुँने भएकाले माग बमोजिम अन्तरिम आदेश दिनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको आदेशमा भएको बताए । 
    अदालतले भनेको छ, ‘विपक्षी गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धी विवादमा परराष्ट्र मन्त्रालयमा विभिन्न उजुरी तथा निवेदनहरू परी मिति २०८०/१०/०९ मा नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट लेखा तथा कारबाहीको छानबिन गर्न सहन्यायाधिवक्ताको संयोजकत्वमा छानबिन समिति गठनसमेत भएको परराष्ट्र मन्त्रालयबाट प्राप्त सकल निर्णय फाइलबाट देखिन आएको र अन्तरिम आदेश जारी गरी पाउँ भनी माग गरेको विषयमा प्रस्तुत रिट निवेदनको अन्तिम निर्णय हुँदा ठहर भए बमोजिम हुने नै हुँदा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नु पर्ने अवस्थाको विद्यमानता देखिन आएन।’
    गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले अदालतको पछिल्लो आदेशले छानबिन समितिलाई निष्पक्ष रुपमा काम गर्न थप सहज भएको बताउँदै छिट्टै यथार्थ रिपोर्ट आउनेमा आफूहरू आशावादी रहेको बताए । 
    विनोद कुँवर नेतृत्वको एनआरएनएको तर्फबाट दिपेश खत्रीले गत ११ औँ महाधिवेशन र निर्वाचन बदर गर्न माग गर्दै दायर भएको रिटमा अदालतले अन्तरिम आदेश भने दिन अस्वीकार गरेको छ । तर, मन्त्रिपरिषदको निर्णयका आधारमा बनेको छानबिन समितिलाई अदालतले मार्ग प्रशस्त गरिदिएसँगै यसबारे थप मुद्दा मामिला हुने ढोका बन्द भएको एक कानुनविदले बताए । अदालतले आफ्नो आदेशमै यसबारे स्पष्ट खुलाएकाले समितिले दिने निर्णय नै आधिकारिक हुने अवस्था रहेको ती कानुनविदको भनाइ छ । 
    गैरआवासीय नेपाली संघ बालुवाटारसहित परराष्ट्रमन्त्री र तत्कालीन अध्यक्षयहरु बद्री केसी, कुल आचार्य र रविना थापा का साथै नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माविरुद्ध दायर मुद्दामा सोमबार न्यायाधीशद्वय शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा ११ औँ महाधिवेशन गरिएपछि त्यसलाई रोक्न वा बदर गर्न माग गर्दै आफूले उच्च अदालतमा मुद्दा दायर गरेको खत्रीले बताए । तर अदालतले अन्तरिम आदेश नदिएको भएपनि अझै  लडाइँ भने जारी रहने उनको भनाइ थियो ।
    एनआरएनए हाल तीन भागमा विभाजित रहेको अवस्था छ ।  १० औँ महाधिवेशनमा पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा छुट्टै महाधिवेशन भएर  विनोद कुँवरको नेतृत्वमा नयाँ एनआरएनए बनेकोमा ११ औँ महाधिवेशनमा भोटिङका क्रममा धाँधली भएको भन्दै बद्री केसीविरुद्ध आरके शर्मा र महेश श्रेष्ठ समुहले नयाँ कार्यसमिति चयन गरेर गतिविधि गर्दै आएका छन् ।आरके शर्मा र बद्री केसी पक्षबिच अझै विवाद कायमै रहेको छ भने विवादका सम्बन्धमा हालै परराष्ट्र मन्त्रालयले छानबिन समिति बनाएको थियो  । यस्तै कुँवर पक्षले फेरि मार्चमा महाधिवेशन तोकेको छ ।
    यहीबिचमा अदालतले कुँवर पक्षको रिटलाई नै टेकेर छानबिन समितिबारे पनि बोलेको हो । 
    माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले एनआरएनएको विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव ९लेखा० सदस्य रहेको छानबिन समिति गठन गरिएको उल्लेख छ । 

    416096897_980375656807972_2816593211861264393_n.jpgगैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरीरनिवेदनहरू र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवादको सम्बन्धमा र संघको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 
    गत असोज ३० देखि कात्तिक ३ गतेसम्म तय भएको ११ औँ महाधिवेशन र निर्वाचन कार्यक्रममा दुई पक्षबिच भएको मतपरिणमसम्बन्धी विवाद समाधान नभएपछि सरकार छानबिन समिति नै गठन गर्नेसम्मको अवस्थामा पुगेको हो । निर्वाचनमा तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठ छुट्टाछुट्टै प्यानल बनाएर अध्यक्षको दौडमा थिए । जसअनुसार कात्तिक २ गते मध्यरात निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्दा अध्यक्षमा बद्री केसी र अन्य पदाधिकारीमा मिश्रित नतिजा आएको थियो । तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा प्राप्त मत शून्य आएपछि विवाद उत्पन्न भएको थियो ।
    एनआरएनएको निर्वाचन अस्ट्रेलियन प्रविधि कम्पनी भेरो भोटिङमार्फत गराइएको थियो । अर्थात् पूर्णतः अनलाइनमार्फत भएको उक्त निर्वाचनमा काठमाडौँमा उपलब्ध एनआरएनहरुका लागि महाधिवेशनस्थल राजधानीको होटल सोल्टीमा छुट्टै बुथ बनाइएको थियो । यद्यपि त्यहाँपनि अनलाइनमार्फत नै भोट खसाल्ने नै व्यवस्था गरिएको थियो । तर धाँधलीसम्बन्धी विवाद समाधान नभइकन बद्री केसीले एकपक्षीय रुपमा अध्यक्षको सपथ लिएपछि विवाद शर्मा र श्रेष्ठ पनि एक हुँदै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा भएको थियो । यसैबीच छानबिन समितिले आफ्नो कामलाई तीव्रता दिएको छ । समितिले फाइलहरु मगाएर आफ्नो कामलाई तीव्रता दिएको एक सदस्यले बताए । समितिले यसअघि केन्द्रीय अनुसन्धन ब्युरो ९सीआईबी०ले दिएको धाँधलीसम्बन्धी रिपोर्टलाई पनि आधार बनाएको छ । सीआईबीको रिपोर्टमा धाँधली भएको पर्याप्त आधारहरु रहेको खुलाइएको छ । सीआईबीले रिपोर्ट गृहमन्त्रालयमा बुझाएपछी गृहमन्त्रालयले पनि रायसहितको सिआइवीको रिपोर्ट पररास्ट्र मन्त्रालयलाई बुझाएको छ । अदालतले मार्गप्रशस्त गरेपछी छानविन समितीको रिपोर्ट सार्वजनिक भएसङ्गै एनआरएनएको विवाद टुङ्गिनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस