काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।
जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।