काठमाडौं । आङ्गिक प्राविधि शिक्षालयहरुमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने, पदपूर्तिको विज्ञापन गर्नुपर्नेलगायतका माग राखी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाईमा उनीहरुले माघ १० गतेदेखि धर्नामा बस्दै आएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले नर्सिङ् कार्यक्रम सञ्चालन गर्न दिनु पर्ने सहित संगठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरुलाई आर्थिक स्रोेतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता वापतको रकम उपलब्ध गराउनु पर्ने, संगठनसँग गएको जेठ १८ गते भएको सहमति कार्यान्वयन गर्नु पर्ने माग अघि सारेको छ ।
यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएकोे भदौ २७ गते जारी गरेको आदेशअनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको संगठले जनाएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष कमल ढकालले सीटीईभीटीले जिम्मेवारी हेरफेर तथा सेवा करार तथा ज्यालादारी कर्मचारीको महँगी भत्ता उपलब्ध नगराएसम्म आन्दोलन नरोकिने बताए । साथै, कर्मचारीलाई प्रधानमन्त्रीले घोषणा गरेको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने तथा आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्नेगरी सीटीईभीटी अन्तर्गतका सम्भाव्य आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न आवश्यक प्रक्रिया सुरू गर्नुपर्ने संगठनको माग रहेको उपाध्यक्ष ढकालले बताए ।
त्यस्तै उच्च अदालत पाटनबाट जारी भएको आदेश हालसम्म पनि कार्यान्वयन नभएको हुँदा अदालतको अवहेलना मुद्दामासमेत अघि बढ्ने तयारी भइरहेको ढकालले जनाए ।
गत पुस ८ गते पोखरा प्राविधिक शिक्षालय, पोखरामा बसेको नेपाल राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकका निर्णय अनुसार पाँच बुँदे मागपत्र पेश गर्दा बेवास्ता भएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।
सीटीईभीटीको प्राङ्गणमा पाँच बुँदे मागहरू उल्लेख गरिएको ब्यानरसहित संघर्षको अर्को स्वरूप निर्धारण नभएसम्मको लागि अध्यक्ष, एक जना उपाध्यक्ष र महासचिव गरि तीनजना कार्यालय समयभर धर्नामा बसिरहेको संगठनका अध्यक्ष तेज खत्रीले बताए । अध्यक्ष खत्रीले सीटीईभीटीका अन्य सम्पूर्ण कर्मचारीहरूलाई यी मागहरूमा ऐक्यबद्धताका जनाउनका लागि समेत आह्वान गरेका छन् ।