Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 630
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ १८ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १८ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    बाँसबारी छाला जुत्ता घोटालामा भाइ अरूण चौधरी पक्राउ , दाइ विनोद चौधरी निगरानीमा , पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न आदेश

    काठमाडौं । ठुलो व्यवसायिक घराना चौधरी ग्रुपको सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेका छन् ।बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सांसद विनोद चौधरीका भाइ अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

    सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा  चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घोटालामा सीआईबीले अनुसन्धान गर्दा सिजी ग्रुप मुछिएकोले अरुण पक्राउ परेका हुन् ।


    यसैगरी  सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । उनलाई सीआईबीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

    शेयर बजार :  ३०.९२ अंकले घटेर नेप्से २०६७.०१ विन्दुमा ,  ४ अर्ब १८ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ३०.९२ अंकले घटेर  २०६७.०१ विन्दुमा आएको छ ।  आज ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्सबाहेक अरु सबै समूहका सूचक घटेका छन् । यस दिन ३०९ कम्पनीको १ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ५४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर परेका छन् ।

    निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री डा महत

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

    निर्यात व्यवसायी महासङ्घ नेपाल ९फिन०को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो । “निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ ।  निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ”, उहाँले भन्नुभयो, “नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ ।”

    उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राख्नुभयो । उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    ह्याविट्याट पावर कम्पनी लिमिटेडको  साधारण सभा फागुन १० गते

    काठमाडौ ।   ह्याविट्याट पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, हांडिगाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    सिउरी न्यादी पावरको साधारण सभा  फागुन ९ गते , आइपीओ निष्कासन गर्ने

    काठमाडौ ।  सिउरी न्यादी पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

    आर्थिक वर्ष २०७८-७९ र २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

    आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९.४६ प्रतिशतले घट्यो 

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड २४ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १२.२० प्रतिशतले घटेर १२ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ३९.४६ प्रतिशतले घटेर १ करोड ७८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ५९ लाख २६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ । 

    युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको साधारण सभा  फागुन ६ गते , लाभांश प्रस्ताव पारित गर्न

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै धमाधम निक्षेप तानेको छ ।  आज बिहीबार माघ १८ गते २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । हिजो बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

     

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल–मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ ।

    नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०८०

     काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्तरूपमा विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र यस क्षेत्रका नवीनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्यले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको नवौं संस्करण यही माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डप मा आयोजना हुन गइरहेकोे छ ।

    भारतले नेपाललाई दिने अनुदान रकममा १ अर्ब  भारतीय रुपैयाँ बढायो

    काठमाडौँ  । भारतले नेपाललाई दिने अनुदान रकममा १ अर्ब  भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको  हो ।

    यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई  ५ अर्ब ५० करोड उल्लेख थियो ।तदनुसार  ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै  ६ अर्ब ५० करोड  भारु तदनुसार  १० अर्ब ४३ करोड नेपाली रुपैयाँ उल्लेख छ  ।

    दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । भारतले मालदिभ्सलाई ७ अर्ब ७० करोड भारु अनुदान दिने भएको छ । यसअघि प्रस्तुत गरिएको बजेटमा भने मालदिभ्सलाई ४ अर्ब करोड भारु अनुदान दिने उल्लेख थियो ।

    सुनको अवैध कारोबार गरेको आरोपमा पक्राउ व्यापारी छुटाउन सुनचाँदी व्यवसायी संघको विरोध प्रदर्शन

    काठमाडौं । बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै  जनकपुरधामका सुनचाँदी व्यावयासी बलराम साह, अरुण कुमार ठाकुरसहित चार जनालाई पक्राउ परेको विरोधमा जनकपुरधामका सुनचाँदी पसलहरु बन्द गरिएको छ ।

    जनकपुरधाम सुनचाँदी व्यवसायी संघको आह्वानमा सुनचाँदी पसलहरु व्यावसायीले बन्द गरेका हुन् ।  व्यावसायीद्वय साह, ठाकुरसहितलाई तत्कालै रिहा नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने संघको चेतावनी छ ।

    बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै प्रहरीले साह र ठाकुरलाई धनुषा प्रहरीले बुधवार पक्राउ गरेको थियो । यस्तै सिरहा मिर्चयाका व्यवसायीद्वय रोशनी ज्वेलर्सका अजय साह सोनार र संजय साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । 

    बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ ।

    थाई भाट चोरीको अभियोगमा विमानस्थालबाट पक्राउ

    काठमाडौँ ।  नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ ।

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई आज दिउँसो पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

    निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं : चेम्बर अध्यक्ष मल्ल

    काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । निर्यात प्रर्वद्धन गरेर व्यापारघाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताउनुभयो । निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभएको हो ।
    अध्यक्ष मल्लले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’

    आजको मौसम : कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

    काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

     

    महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात भइरहेको छ । साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरुमा हुस्सु समेत लागेको छ ।

     

     

     
     
     
     
     
     

     

     
     
     
     
     

     

     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस