Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images
बाँसबारी छालाजुत्ता घोटाला

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा पक्राउ परेका चौधरी र थापालाई अस्पताल पु-याइयो


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 1.0k
    Shares

  • बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनामा पक्राउ परेका चौधरी र थापालाई  अस्पताल पु-याइयो

    काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण थापालाई चार दिनको सोधपुछ गर्न अघि स्वास्थ्य जाँच गरिएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका ६२ वर्षीय ब्यवसायी अरुण चौधरी र ८२ वर्षीय अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको हो ।
     दुवै जनाले उच्चरक्तचापको औषधि खाइरहेकोले दुवैजनाको स्वास्थ्यस्थितिको जानकारी लिन चिरायु अस्पताल लगिएको थियो ।

    ठुलो व्यवसायिक घराना चौधरी ग्रुपको सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेका छन् ।बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सांसद विनोद चौधरीका भाइ अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

    सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा  चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घोटालामा सीआईबीले अनुसन्धान गर्दा सिजी ग्रुप मुछिएकोले अरुण पक्राउ परेका हुन् ।


    यसैगरी  सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । उनलाई सीआईबीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

    सांसद विनोद चौधरी पनि मुछिए  

    सरकारी जग्गा हिनामिना प्रकरणमा उद्योगी तथा सांसद विनोद चौधरी पनि मुछिएका छन् । सिजी ग्रुपका अध्यक्ष विनोद र सिजी होल्डिङ्सका अध्यक्ष अरुण दाजुभाइ हुन् । उनीहरूको मिलेमतोमा सो जग्गा हडपिएको  अनुसन्धानबाट खुलेपछि  सीआईबीले दुवै दाजुभाइलाई सँगै पक्राउ गर्ने योजना सुरुमा  बनाएको स्रोतको भनाइ छ ।
    विनोद चौधरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य र संघीय संसदको सदस्य भएकाले उनलाई समात्न विभिन्न वैधानिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले भाइ चौधरीमाथि सीआईबीले सिकञ्जा कस्ने योजना बनाएको स्रोतले जनायो ।

    “ अरुणसँगै विनोद चौधरीकै नाममा पनि सरकारी जग्गा भेटिएको छ, सरकारी जग्गा हिनामिना गर्ने सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं, सोही अनुरूप हामीले विभिन्न व्यक्तिमाथि निगरानी गर्ने क्रममा विनोद र अरुण चौधरी पनि रहेका छन्, दुवै जनाको निगरानीमा हामी थियौं, सोही अनुरुप अरुण पक्राउ परेको र अन्य संलग्नहरूको पनि खोजी कार्य भइरहेको छ”  सीआईवी स्रोतले भन्यो ।

    सिजी ग्रुपले हडपेको भनिएको  जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी गरिएको छ । निकै सस्तोमा सरकारी जग्गा सिजी ग्रुपले आफ्नो नाममा ल्याएको बुझिएको छ ।

    घोटाला  प्रकरण के हो ?

    सरकारले सञ्चालन गरिरहेको बाँसबारी छाला तथा जुत्ता कारखाना लगातार घाटामा गइरहेको थियो । कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गरियो ।  त्यतिबेला सो १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेड नामको कम्पनीले खरिद ग¥यो।

    बाँसबारी छाला तथा जुत्ता कारखानाको तत्कालीन सञ्चालक समितिको बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल २५ लाख रुपैयाँमा जग्गा बिक्री गरेको थियो । तर, कारखानाले पैसाभन्दा पनि च्याम्पियन फुटवेयर लिमिटेडको प्रतिसेयर १ हजार रुपैयाँका दरले २५ सय कित्ता सेयर मात्र पायो । अनि बाँसबारीको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा आयो ।

    त्यो च्याम्पियन फुटवेयर तिनै उद्योगी विनोद चौधरीको  थियो । २५ लाखमा १० रोपनी जग्गा पाएका चौधरीले राजनीतिक तथा प्रशासनिक निकायलाई प्रभावमा पारेर सो जग्गा आफ्नो हातमा पार्न सफल भएको अनुसन्धानमा संलग्न एक व्यक्तिले जनाएको छ ।
    सुरुमा सो च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले भने सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा मात्र छ ।

    थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिले नै चौधरी ग्रुपलाई  १० रोपनी जग्गा दिन लागिपरको अनुसन्धानबाट खुलेको छ । तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

    पक्राउ परेकाहरूलाई चार दिन थुनामा राख्न आदेश 
    पक्राउ परेका चौधरी र थापालाई चार दिन हिरासतमा राख्न आदेश दिइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चार दिन थुनामा राख्न आदेश दिएको हो ।


    प्रतिक्रिया दिनुहोस