Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ २१ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ २१ आइतबार

  • 756
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ २१ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २१ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    रिडी पावर र युनाइटेड अजोडको नेप्सेमा सेयर मूल्य समायोजन

    काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेड र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । रिडीको ५० प्रतिशत हकप्रद सेयरमा भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २१६ रुपैयाँ ६७ पैसा कायम भएको छ । 
    युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको १०.२६ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ६१८ रुपैयाँ ९० पैसालाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पछि यसको मूल्य ५६१ रुपैयाँ ३० पैसा कायम भएको छ ।

    शेयर बजार : ५.३१ अंकले घटेर नेप्से २०६१.७०  विन्दुमा , ३ अर्ब १७ करोडको कारोबार

    काठमाडौं । आज नेप्से  ५.३१ अंकले घटेर २०६१.७०  विन्दुमा आएको छ । आइतबार ३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । यस दिन ३०७ कम्पनीको ९२ लाख ७२ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एसियन लाइफ इन्सुरेन्स र निफ्रा परेका छन् ।

    एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरण पछि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
    कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमल ७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको हो । 
    माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ४०७ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

    कालंगा हाईड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

    काठमाडौं ।  कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको (प्राथमिक सेयर आइपीओ) लाई ज्याति क्यापिटलले प्रत्याभूत गर्ने भएको छ । कम्पनीको कुल ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयरमध्ये ३४ लाख ९० हजार कित्ता सेयरमा ज्योति क्यापिटलले प्रत्याभूत गर्ने भएको हो । यसको लागि क्यापिटल र हाईड्रो कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    ग्लोबल आइएमई लघुवित्तको खुद नाफा २६.५८ प्रतिशतले घट्यो

     काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्तको नाफा २६.५८% ले घटेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी १०.५०% ले बढेर २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यद्दपि, इम्पेयरमेन्ट चार्ज ७ करोडबाट बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा २६.६६% ले घटेको छ । जसका कारण खुद नाफा प्रभावित बनेको हो । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष २५.७५% ले घटेर ५० करोड १८ लाख रुपैयाँमा आएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर  १५.४६ रुपैयाँ कायम भएको छ ।

    दोर्दी खोलाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा  सानिमा क्यापिटल 

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।

    कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

    सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । यस संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । साविकका दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ।

    आज रिडी पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आज माघ २१ गते आइतबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि माघ २२ गते बुक क्लोज गर्दैछ । यस कम्पनीले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न लागेको हो । जसअनुसार रिडी पावरले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ । यो हाइड्रोपावरको  लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

    तेह्रथुम पावर कम्पनीको  खुद नाफा ८७६.१३ प्रतिशतले बढ्यो

    काठमाडौं । तेह्रथुम पावर कम्पनीको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा ८७६.१३ प्रतिशतले बढेर ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफामा वृद्धि भएको हो ।विद्युत् बिक्रीबाट हुने आम्दानी ८.८५ प्रतिशतले बढेर ९ करोड १ लाख ४ हजार रुपैयाँ पुगेको छ ।सञ्चालन नाफा १२.४९ प्रतिशतले बढेर ५ करोड ९४ लाख ४३ हजर रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । जगेडा कोष १३ करो ८९ लाख ९८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९० पैसाले बढेर ३ रुपैयाँ २३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ २५ पैसा छ ।

    आज युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २१ गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    भन्सार छली र राजस्व चुहावटमा आएन कमी ,पर्सा प्रहरीले मात्रै सवा चार करोड बढीको मालवस्तु समात्यो

    काठमाडौं । भन्सार छली र राजस्व चुहावटको कार्यमा कमी आएको छैन् । जिल्ला प्रहरी पर्सा कार्यालयबाट खटिएका टोलीहरूले नै एक महिना भित्र सवा चार करोड बढीको मालवस्तु समातेर अनुसन्धानका लागि पठाएको हो ।

    पर्यवेक्षकका अनुसार प्रहरी टोलीले  समातेको भन्दा बढी तस्करहरूले उम्काउन सफल भएका छन् ।पर्यवेक्षकहरूको यो भनाइसँग पर्सा जिल्लासम्बद्ध स्रोतले पनि यस्तो बताएका छन् ।

    गत जनवरी महिनामा ६ पटक पर्सा प्रहरीले बिल बिजक भन्दा बढी मालवस्तु लोड गरिएका ट्रक नियन्त्रणमा लिएर गरिएको अन्दाजी मूल्यांकनबाट सवा चार करोड बढीको मालवस्तु अनुसन्धानका लागि पठाएको जनाएको हो ।
    माघ १० गते  अन्दाजी कुल १ करोड १३ लाख १८ हजार ८सय ९० बराबरको मालवस्तु नियन्त्रणमा लिएको थियो ।सो ट्रकमा कपडा तथा खुद्रा सामानहरू रहेको र त्यसलाई माघ ११ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको जनाइएको छ ।

    ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ

    काठमाडौं । प्रहरीले कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।

    प्यूठान गौमुखी गाउँपालिका –३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

    पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन गर्दै सरकार

    काठमाडौं । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट क्षमताका आठ आयोजनाको अध्ययन गरिरहेको छ ।

    यस्तै, एक सय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । अध्ययनमा रहेका आयोजनालाई शीघ्र काम सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

    विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।

    सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई   तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

    काठमाडौं । पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई  सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर  गरिएको छ ।विशेष अदालतले माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार  तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ।

    इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय तोकेको छ ।सिर्जना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने फैसला गरिएको छ ।

    सोमबारदेखि संसद्को अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ गते सोमबारदेखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

     

    यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

    दोलखाको सहकारीबाट ३२ लाख चोरी

    दोलखा ।  दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ  ।  केही दिनअघि  दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । 

     

    चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रु ३२ लाख ८७ हजार दुई सय ७६ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।

    आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएको  भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएको  भौतिक संरचनामाथि डोजर चलाएको छ।

    आइतबार काठमाडौं महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको हो । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए।

    पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने योजना सुरु

    काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ ।

    अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सीमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

    यसअघि  कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेको थियो ।

    कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने अनुसार शुक्रबारदेखि महानगरको  प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु भने अनुसार गरिएको छ ।  एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइनेछ ।

     

     
     

     

     

     

     
     
     
     
     

     

     
     

     

     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस