काठमाडौं । काँकडभिट्टाबाट तेस्रो देशका नागरिकलाई नेपाल प्रवेशमा भारतले लगाएको अवरोध अझै कायम रहेकोमा त्यस क्षेत्रका पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । भारतले पूर्वी नाका भएर नेपाल आउने तेस्रो देशका नागरिकलाई चार वर्षअघि लगाएको अवरोध खुलाउन माग गरेका हुन् ।
भुटानबाहेक देशका नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा भारतले रोक लगाएको हो । चैत ०७६ मा कोरोना महामारीका कारण नाका बन्द भएसँगै रोकिएको आवतजावत भारतले अझै खोलेको छैन ।
भारतले अहिले नेपाल प्रवेश गर्ने भुटानी नागरिक र भारत आउन भिसा आवश्यक नपर्ने तेस्रो देशका नागरिक (एनआरआई)लाई मात्र नेपालतर्फ पठाइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले जानकारी सार्वजनिक गरेका हुन् ।
भारतको रानीगन्जमा रहेको चेकपोस्टले नेपालतर्फ आउने तेस्रो देशका नागरिकलाई यता पठाउँदै पठाउँदैन । नेपालको भिसा भए पनि उसले यो नाकाबाट नेपालतर्फ पठाउँदैन। भारतको भिसा भएका तेस्रो देशका नागरिकलाई नेपालबाट पठायो भने पनि उता भारतबाट फिर्ता पठाउने गरिन्छ । तेस्रो देशका नागरिक आवतजावतमा भारतको अवरोध छ ।’
रोक अघि यो नाका भएर वार्षिक नौ हजारभन्दा बढी तेस्रो देशका पर्यटक नेपाल भित्रने गरेका थिए । तर, अहिले भुटान र भारतमा भिसा नलाग्ने नागरिक गरी वार्षिक तीन हजारहाराहारी मात्र नेपाल प्रवेश गर्ने गरेको अध्यागमन विभागको अध्ययन छ ।
यहाँबाट विगतमा सबैभन्दा धेरै बंगलादेशी नागरिक आवतजावत गर्थे । यहाँबाट करिब ४५ किलोमिटर दूरी मात्र भएकाले तेस्रो देश जान र पर्यटनका लागि बंगलादेशी नागरिक आउँथे । त्यसपछि भुटानी नागरिक थिए। भारत घुम्न आएका अन्य देशका नागरिक नेपालतर्फ आउने र नेपाल आएका अन्य देशका नागरिक भारततर्फ जाने गरेका थिए । अहिले यो आवत्जावत्मा रोक छ ।परराष्ट्र मन्त्रालयसम्मलाई यो जानकारी भएपनि यसबारे केही पहल नभएको स्थानीयहरूको भनाइ छ ।
तेस्रो देशका नागरिकलाई आवतजावतमा भारतले अवरोध गर्दा यसको असर पर्यटन र होटेल व्यवसायमा देखिएको ट्राभल्स संघ झापाका पदाधिकारीहरू बताउँछन् । नेपालबाट भारत जान नेपाली नागरिकलाई समेत कडाइ गरिएको छ ।
कोरोना महामारीअघिसम्म भारत जान नेपालीलाई र नेपाल आउन भारतीयलाई केही कागजात आवश्यकता पर्दैन थियो । तर, अहिले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेलाई अनिवार्य परिचयपत्र देखाउनुपर्ने अवस्था छ ।