Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

मधेश प्रदेशका गणतन्त्र लोकतन्त्र र संघीयता पक्षधरहरूद्वारा सत्तर्क रहन सरकारको ध्यानाकर्षण

मधेश प्रदेशका गणतन्त्र लोकतन्त्र र संघीयता पक्षधरहरूद्वारा सत्तर्क रहन सरकारको ध्यानाकर्षण

  • काठमाडौं । मधेश प्रदेशका पूर्व सांसद, संविधान सभा सदस्य, विभिन्न पार्टीका नेता तथा स्वतन्त्र बुद्धिजीवीहरूको एक समूहले गणतन्त्र , लोकतन्त्र र संघीयताका पक्षमा उभिन सबैलाई आह्वान गरेको छ ।साथै सरकार र प्रशासनिक निकायलाई संविधानको प्रस्तावना विरुद्ध भइरहेको गतिविधिबारे सो समूहले ध्यानाकर्षण गराएको छ ।

    राष्ट्रिय सभाका पूर्व सांसद तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेस नेता रामसरोज यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, बामबुद्धिजीवी रोशन जनकपुरी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष  रामचन्द्र पण्डित, नेकपा माओवादी केन्द्रका श्रीनारायण प्रतिहस्त, संविधान सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता शीतल झा, संविधान सभा सदस्य तमलोपाका बरिष्ठ नेता विजयकुमार सिंह, नेपाली कांग्रेसका जीवनाथ चौधरी, नेकपा एमाले केन्द्रीय सल्लाहकार सन्तोष यादव र तमलोपाका रामजी रायलगायतका व्यक्तिहरूको सो समूहले गणतन्त्र , लोकतन्त्र र संघीयताको पक्षमा आफ्नो समर्थन जनाउँदै यसको विरुद्धमा प्रतिगमनकारी राजतन्त्र फर्काउन भइरहेको प्रयास विरुद्ध उभिन सबै आम जनतामा आह्वान गरेको हो ।

    माघ २३ गते जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ “ नेपालमा राजतन्त्रको इतिहास आतातायी,छलपूर्ण आक्रमण, जीउज्यान, इज्जत र सर्वस्वहरण, नाककान काट्ने, व्यक्तिगत अनुचित कारणले राज्यशक्तिको बन्धक बिक्री गर्ने, जनअधिकार र लोकतन्त्र खोस्ने, प्रतिगमन गर्ने, सत्तालिप्साको निमित्त मारकाट गरी वंश नै निर्मूल गर्ने र धर्मको आवरणमा सोझासाझा जन साधारणलाई धूर्ततापूर्ण ढंगले भ्रमित गरी निरंकुश राज गर्ने कूकृत्यले भरिएको इतिहास हो । यस्तो व्यवस्थाको वकालत गर्नेहरू कस्ता चरित्रका होलान् आफै स्पष्ट हुन्छ । ”

    विज्ञप्तिमा अगाडि भनिएको छ“ विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरू राजतन्त्र फर्काउने षडयन्त्रको व्यापार गर्दैछन् । जनताको सर्वोच्चता र संविधानको प्रस्तावना र त्यसको अपरिवर्तनीय प्रावधान विपरीत, अराजकता फैलाउने तत्वहरूमाथि सरकार र प्रशासनको कारगर कारबाहीको अभावले आउने दिनेहरूमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरूको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्र बौद्धिकवर्ग, युवा , विद्यार्थी, मजदुर किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आआफ्नो स्तरबाट सक्रियताका साथ अग्रसर हुन अपील गर्दछौं ।” 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij