Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २५ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 771
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ २५ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  माघ २५ बिहीबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शेयर बजार : ५.७४ अंकले बढेर नेप्से २०९६.३८  विन्दुमा , ३ अर्ब २१ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ५.७४ अंकले बढेर २०९६.३८  विन्दुमा आएको छ ।  आज ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ४ वटा समूहका सूचक घटेका छन् भने बाँकी समूह सकारात्मक रहेका छन् । यस दिन ३१७ कम्पनीको ९१ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः चन्द्रागिरी हिल्स र अपि पावर परेका छन् ।

    झ्यामोलोङ्गमा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, लिलितपुरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक छन् : अर्थमन्त्री

    काठमाडौं  । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा उनले यस्तो दाबी गरेका हुन् । उनले विगतमा विदेशी लगानीकर्ताहरु नेपाल आफैं सम्पर्कमा जाँदासमेत उदासिन हुने गरेको भए पनि अहिले लगानी गर्न आफैं खोज्दै आइरहेको बताए । 
    अर्थमन्त्रीले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । तसर्थ, वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन उनले आग्रह गरे । उनले आउँदो जुन महिनामा विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था (आईडी) को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेको पनि जानकारी दिए ।

    बुढानिलकण्ठ हेरिटेजले आईपीओ जारी गर्ने ,विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर १०० रूपैयाँ अंकित मुल्यमा १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ ।

    नेपाल ल्युव आयलको ५ प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले यस वर्षको ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । कम्पनीले यस वर्ष नगद लाभांशसँगै २५ प्रतिशत बोनस शेयर पनि वितरण गर्न लागेको छ ।बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको बताएको छ ।

    विन नेपाल लघुवित्तको साधारण सभा फागुन २९ गते

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    बुद्धभूमि हाइड्रोपावरको नाफा ६१.४१ प्रतिशतले घट्यो

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१%ले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४% धेरैहो । प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको छ ।जसका कारण खुद नाफामा गिरावट आएको हो । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ । प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ ।

    इस्टर्न हाइड्रोपावरको नाफामा ७२ प्रतिशतले  बढ्यो

    काठमाडौं  । इस्टर्न हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७२.५३ प्रतिशतले धेरै हो ।विद्युत बिक्रीबाट हुने आम्दानी ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रुपैयाँ कायम भएको छ । वित्तीय खर्च ३ करोड १ लाखबाट घटेर २ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।  कुल खर्च ३ करोड ३२ लाखबाट घटेर २ करोड ६७ लाख रुपैयाँमा झरेको छ । वित्तीय खर्च घट्दा नाफा बढेको हो । इस्टर्नको चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक छ ।

    सीवाइसी नेपाल लघुवित्तको नाफामा ११.६० प्रतिशतले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सीवाइसी नेपाल लघुवित्तको खुद नाफा ११.६० प्रतिशतले घटेर २ करोड १० लाख रुपैयाँमा झरेको छ । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.५५ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २६.९७ प्रतिशतले घटेको छ ।

    आज सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं ।  सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज माघ २५ गते बिहीबार अन्तिम दिन हो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यस कम्पनीको बुक बिल्डिङ विधिको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । सर्वोत्तमले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो ।

    स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको हो । सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको हो ।

    सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्री  निजी क्षेत्रलाई मुद्रण गर्न  नदिइने

    काठमाडौँ । सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्री  निजी क्षेत्रलाई मुद्रण गर्नका लागि  नदिइने भएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो ।

    विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानी बाहेकका सामग्रीहरुलाई अन्य व्यक्ति वा निकायहरुमा पनि दिन सकिने व्यवस्था आएपछि सांसदहरुले संशोधन हाल्दै सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न दिनु नहुने बताए ।  समितिले सुरक्षण मुद्रणसँग सम्बन्धित कुनैपनि सामग्रीहरु नीजि क्षेत्रलाई मुद्रणसँग नदिनेगरी सो विषय टुंग्याएको हो । यद्यपि नेपाल सरकारले नसकेको खण्डमा सरकारकै स्वामित्वमा रहेका निकायहरुलाई भने मुद्रणको जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको छ ।

    अमेरिकामा हुने सोर्सिङ एट म्याजिक २०२४ मा नेपालका तयारी पोशाक व्यवसायीहरुले सहभागिता जनाउने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक २०२४ मा नेपालका तयारी पोशाक व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग संघले यसबारेमा जनाएको हो ।

    अध्यक्ष पाण्डेले हरेक वर्ष नेपालले मेलामा सहभागिता जनाउँदै आएको र यस वर्ष पनि सहभागिता जनाउन शुक्रवार अमेरिकातर्फ प्रस्थान गर्ने बताए ।

    भन्सार छली चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँका मालवस्तु अनुसन्धान गर्न बुझाइयो

    काठमाडौं । भन्सार छली चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँका मालवस्तु प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न बुझाएको छ ।जिल्ला प्रहरी कार्याल पर्साका प्रहरी टोलीले चालीस लाख बढी मूल्यांकन गरिएको मालवस्तु  नियन्त्रणमा लिएको हो ।

    ना ३ ख ४७४९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई हेर्दा बिल बिजक भन्दा बढीको लत्ताकपडा तथा खुद्रा सामानहरू लोड गरेको पाइएको थियो । अनलाइन भीसीटीएस बिलमा उल्लेख गरिएको भन्दा बढी मालवस्तु फेला परेको र त्यसको अन्दाजी मूल्यांकन गर्दा ३५ लाख बढीको भएको पाइएको छ ।

    जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने डब्लुडब्लुएफ र आइएफआरसीबीच सम्झौता

    काठमाडौँ  । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।

    बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।

    यूटीएलको अनुमति खारेजी भएपछि अप्टिकल फाइबर बिछाउने बाटो खुला

    काठमाडौँ । .यूटीएलको अनुमति खारेजी भएपछि अप्टिकल फाइबर बिछाउने कामको बाटो खुला भएको छ ।  युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको हो ।

     देशैभर तीव्र गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यसाथ करिब दस अर्ब लगानीमा मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सबै जिल्लाका सदरमुकामसम्म फाइबर सञ्जाल विस्तार गर्ने सरकारले योजना बनाएको बनाएकोमा  सो काम लुम्बिनी र गण्डकी प्रदेशमा सुरु हुनै सकेको छैन । ती दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलका कारण यो परियोजना सात वर्षसम्म अलपत्र  प¥यो ।

    ५० प्रतिशत साना तथा मझौला व्यवसायमा लगानी गर्न उद्योगी व्यवसायीको माग

    काठमाडौं । उद्योगी व्यवसायीहरूले ३५ दिने घर जग्गाको लिलाम अवधि विस्तार तथा  ५० प्रतिशत साना तथा मझौला व्यवसायमा लगानी गर्न  र नीति निर्माणका लागि एक उच्चस्तरीय समिति गठन गर्न लगायतका माग गरेका छन् ।राष्ट्रपति रामचन्द पौडेलसँग भेटी उनीहरूले यस्तो माग गरेका हुन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले राष्ट्रपति पौडेललाई भेटी यी विषयहरू उठाइ एक ज्ञापन पत्र बुझाए ।ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको र त्यसको समाधानका लागि आफूले सम्बन्धित निकायसँग कुरा गर्ने विश्वास दिलाए ।

    मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईँहरूजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्त्वपूर्ण हुने भएकोले  तपाईँहरूको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने राष्ट्रपतिले भने ।

    नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउनेहरुसमेत २४९ जनाविरुद्ध  मुद्दा दायर

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र त्यसको निर्णय प्रक्रियामा संलग्न भएका २४९ जनाविरुद्ध  बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। कैलालीको टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई जग्गा व्यक्तिका नाममा ल्याइएको अख्तियारले जनाएको हो ।

    गोदाम भरिएपछि ‘मिल्क उद्योग’ बन्द

    चितवन । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द गरिएको हो ।

    यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिनुभयो । 

    “सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्डस्टोर भरिएका हुन् ।

     
     
     
     
     
     
     

     

     
     
     

     

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस