Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग चुरियामाई सुरुङको जीर्णोद्धार पूरा, पर्यटन व्यवसाय विस्तार हुने अपेक्षा 


नया सडक

२०८०, माघ २९ सोमबार

  • 1.4k
    Shares

  • दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग चुरियामाई सुरुङको जीर्णोद्धार पूरा, पर्यटन व्यवसाय विस्तार हुने अपेक्षा 

    काठमाडौं । नेपालस्थित दक्षिण एसिया कै पहिलो सुरुङ चुरियामाई सुरुङ जीर्णोद्धार कार्य पूरा भएको छ ।सन् १९१७मा  तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको सो   सुरुङको जीर्णोद्धारको काम हालै पूरा गरिएको हो ।
    हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको शक्तिपीठ चुरियामाई मन्दिरसँगै सो  सुरुङ मार्ग रहेको छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य सुरु गरेको थियो । बागमती प्रदेश सरकारले काम सुरु गर्दा ४ करोड ५७ लाख २० हजार रुपैयाँ रकमको लागत अनुमान गरिएको थियो 
    ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकारले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाई दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेको थियो । सो सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण गरिएको छ ।
    सुरुङ मार्ग भित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको २ प्रवेश द्वारमा सजावटको काम गरिएको छ ।

    काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसिया कै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘ द हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ । चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको हेगनले आफ्नो पुस्तकमा लेखेका छन् ।
    पूर्व–पश्चिम राजमार्ग निर्माण हुन अघि भारतबाट आयात गरी ल्याइने सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लगिने गरिन्थ्यो । सो सुरुङ मार्ग काठमाडौँलाई तराईसंग जोड्ने प्रमुख नाकाको रूपमा रहेको थियो । सुरुङ मार्ग भएर भित्रिएका सामग्रीहरू भीमफेदीबाट मानिसहरूले बोकेर काठमाडौँ पु¥याउने गर्ने गर्थे ।
    चुरियामाई सुरुङ मार्गको डिजाइन नेपालका प्रथम ग्राजुएट इन्जिनियर कर्णेल डिल्लीजंग थापााले १९७५ सालमा गरेका थिए । प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटेका थिए । ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गको मालवाहक सवारी छिर्ने  आकारमा निर्माण गरिएको थियो ।
    एक दशक भन्दा बढी सो सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरिएपनि  पथलैया–हेटौँडा सडक निर्माण भएपछि भने यो सुरुङ मार्ग सञ्चालन हुन छोडियो ।
    सुरुङ मार्गका दुवैतर्फको प्रवेश द्वार खुला रहे पनि सुरुङको मध्य भाग धसिएपछि अवरुद्ध थियो । करिब ४० मिटर धसिएको भाग हटाइ मर्मत सम्भारपछि हाल सुरुङबाट वारपार गर्न सकिने अवस्थामा पु¥याइएको  छ ।
    रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेलमा आउने र अमलेखगन्जबाट मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीसम्म सडक मार्गलाई जोड्न बनाइएको थियो । यो  सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी बनाइएको थियो ।
    बागमती प्रदेश सरकारले यसको सञ्चालनबाट यस क्षेत्रमा पर्यटन व्यवसाय विस्तार हुने विश्वास गरेको छ ।

    प्रतिक्रिया दिनुहोस