Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित


नया सडक

२०८०, फागुन १ मंगलबार

  • 660
    Shares

  • अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित

     

    वासिङ्टन । अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उहाँको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गर्नुभएको छ । 

     

    पन्चानब्बे अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ । 

     

    सिनेटले मङ्गलबार बिहान मतदान गरेको र द्विदलीय समर्थनमा पारित भएको विधेयकमा अमेरिकी अध्यागमन नीतिमा परिवर्तन समावेश गरिएको छैन । यसअघिको सिनेट पाठमा सीमा र विदेशी सहायता दुवै समावेश गरिएको थियो । उक्त पाठलाई माथिल्लो सदनमा जोनसनको आफ्नै पार्टीका सदस्यहरूले अवरुद्ध गरेका थिए । उक्त पाठमा सीमा पार गर्नेहरूलाई पर्याप्तरूपमा सम्बोधन नगरिएको भन्दै उनीहरूले उक्त पाठलाई समाप्त गर्ने वाचा गरेका थिए । 

     

    “कुनै पनि कथित राष्ट्रिय सुरक्षा पूरक कानूनले राष्ट्रिय सुरक्षा हाम्रै सिमानाबाट सुरु हुन्छ भनेर मान्यता दिनुपर्छ भन्नेमा हाउस रिपब्लिकनहरू छलफलको सुरु देखिनै स्पष्ट थिए”, जोनसनले एक विज्ञप्तिमा भन्नुभयो । उहाँले दशकौँमा केही अध्यागमन प्रतिबन्ध समावेश भएको तर अझै धेरै टाढा नगएको सिनेटको पहिलो विधेयक आफ्नो कक्षमा ‘आगमनमा मृत’ हुने बताउनुभएको थियो । 

     

    उहाँको भनाइ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खान्छ । पुनः राष्ट्रपतिका लागि दौडिरहनुभएका र अध्यागमनमा राष्ट्रपति जो बाइडेनको कथित कमजोरीको फाइदा उठाउन चाहनुभएका ट्रम्पले उक्त विधेयकलाई बलपूर्वक खारेज गर्न आह्वान गर्नुभएको छ । 

     

    विधेयकमाथि धेरै महिनाको द्विदलीय छलफलका बावजुद सिनेट रिपब्लिकनहरूले अन्ततः यसलाई अगाडि बढाउनबाट रोक्न मतदान गरे । मङ्गलबार सिनेटमा पारित भएको विधेयकमा अध्यागमन सुधारलाई समावेश गरिएको छैन र धेरै रिपब्लिकनहरूको समर्थनका कारण उक्त विधेयक पक्षमा ७० र विपक्षमा २९ मतका साथ पारित भयो । एएफपी

     

    प्रतिक्रिया दिनुहोस