Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

मधेश प्रदेशस्थित बागमती नदीको पश्चिममा पर्ने  नेपालको समग्र मैदानी भाग विश्वका सात उत्कृष्ट क्षेत्रमा पर्न सफल 

मधेश प्रदेशस्थित बागमती नदीको पश्चिममा पर्ने  नेपालको समग्र मैदानी भाग विश्वका सात उत्कृष्ट क्षेत्रमा पर्न सफल 

  • काठमाडौं । मधेश प्रदेशको बागमतीदेखि पश्चिम भारतको यमुना नदीसम्मको ९०० किलोमिटरको मैदानी भाग भूपरिधि क्षेत्र संंरक्षणको दृष्टिले विश्वकै सात उत्कृष्ट क्षेत्रमा परेको छ । संयुक्त राष्ट्र संघले संरक्षण र जैविक विविधता पुनर्स्थापनाका आधारमा विश्वभरबाट छनौट गरिएका उत्कृष्ट सात स्थानमा मधेश प्रदेशको बागमती नदीको पश्चिमदेखि यमुना नदीसम्मको भूभाग परेको जनाएको हो ।

    यसको घोषणा राष्ट्रसंघले  केन्याको राजधानी नैरोवीबाट मंगलबार ग¥यो । राष्ट्रसंघले संरक्षणका विभिन्न मापदण्ड निर्धारण गरी विश्वभरका मुलुकले संरक्षणमा गरेको प्रयासहरूको अध्ययन, अनुसन्धान गरी छनौट प्रक्रिया सुरु गरेको थियो । विश्वभरका  सयौँ स्थानमा नेपालको मैदानी भागले बाजी मार्न सफल भएको छ ।

    उत्कृष्ट छनौटका लागि छुट्टै मापदण्ड निर्धारण गरिए अनुसार संरक्षणका कामले विश्व समुदायलाई उल्लेख्य योगदान दिएको हुनुपर्ने, सरकार, समुदाय तथा अन्य सरोकारवालहरूको व्यापक सहभागिता भएको हुनुपर्ने, बहुसंख्यक समुदायलाई लाभ भएको  हुनुपर्ने, विगतमा खण्डीकृत र क्षयीकरण भएको क्षेत्रलाई पुनर्जीवन दिएको हुनुपर्ने, संरक्षणको कामले दुई वा त्रिदेशीय प्रभाव र लाभ दिएको हुनुपर्ने, संरक्षणका बहुपक्षीय सिद्धान्त, विधि र प्रक्रिया अवलम्बन भएका हुनुपर्ने, प्रकृति र मानव जातिलाई दीर्घकालीन असर पारेको वस्तुगत आधार भएको हुनुपर्ने लगायतका कुरालाई छनौटको मापदण्ड बनाइएको थियो । 

    उत्कृष्ट स्थानमा परेकाहरूलाई पुरस्कृत गरेको र सो पुरस्कार लिन नेपालको तर्फबाट वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो नौरवी जाने कार्यक्रम रहेको छ । यो छनौटमा परेका अन्य संरक्षण क्षेत्रहरूमा पाकिस्तानको लिभिङ इन्दुस बेसिन क्षेत्र, श्रीलङ्काको म्याङ्रोभ क्षेत्र, इथोपिया, माली, घाना, केन्या, नाइजर,रुवाण्डा, सेनेगल र सोमालियाले संरक्षण गरेको क्षेत्र, लेवना, मोरक्को, टयूनिसियाले संरक्षण गरेको मेडिटेरिनियन क्षेत्र, मालि, सेनेगल, तान्जिनिया र युगाण्डा लगायतका देशले संरक्षण गरेको अफ्रिकी जङ्गल र अर्जेन्टिना, बोलिभिया, चिली, इक्वेडर र पेरुले संरक्षण गरेको एक्सिना एण्डिना जङ्गल क्षेत्र रहेका छन् । 

    नेपालमा सन् २००१ बाट विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा तराई भूपरिधि क्षेत्रमा संरक्षणका कार्यक्रमहरू सञ्चालन भई  आएका छन् । कोषले यो क्षेत्रको संरक्षणका लागि सन् २०५० वर्षसम्मका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

    सन् २००१ देखि हालसम्मको अवधिमा वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा विभिन्न संरक्षण साझेदार संस्था, स्थानीय समुदायको सहयोगमा एकीकृत संरक्षणको कार्यक्रमको रूपमा तराई भूपरिधि कार्यक्रम अथवा ताल कार्यक्रम हाल सञ्चालनमा रहेको वन मन्त्रालयले जनाएको छ ।

    नेपालभित्र पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्म फैलिएको यस क्षेत्रले छ संरक्षित क्षेत्र, चार वन संरक्षण क्षेत्र, तीन रामसार क्षेत्र र आधा दर्जन भन्दा बढी जैविक मार्ग रहेका छन् ।  सन् २००१ मा तराई भूपरिधि कार्यक्रम ताल कार्यक्रमको सुरुवातबाट सुरु भएपछि हालसम्म तराई क्षेत्र ६६ हजार ८०० हेक्टर वनलाई पुनर्जीवित गरिसकेको छ । विश्वमा दुर्लभ मानिएको एक सिङे गैँडाको संख्या २००५ मा ४०९ बाट २०२१ मा ७५२ पुगेको छ । त्यसैगरी बाघको संख्या सन् २०१० मा १२१ बाट झण्डै तीन गुणा बढेर ३५५ पुगेको छन् । 

    यो कार्यक्रमले स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याएको छ । होटल व्यवसाय, होमस्टे, वन पैदावारमा आधारित उद्यम लगायतका जीविकोपार्जनका कार्यक्रमहरूले संरक्षणले स्थानीय समुदायले स्थानीय स्तरमै रोजगारी पाउन सफल भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij