Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन २ बुधबार

  • 960
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    गरिमा समृद्धि योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्न माग्यो अनुमति

    काठमाडौं ।  गरिमा समृद्धि योजनाले इकाई (युनिट) जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस फन्डले १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । यो बन्दमुखि योजना हो । यसले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम गरिमा क्यापिटलले गर्नेछ ।

    शेयर बजार :  ५.९१ अंकले घटेर नेप्से २०७६.५० विन्दुमा ,  ४ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ५.९१ अंकले घटेर  २०७६.५० विन्दुमा आएको छ ।  आज ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ७ वटा समूह सकारात्मक रहेका छन ।यस दिन ३०२ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गार्खाज फाइनान्स र प्राइम बैंक संस्थापक सेयर परेका छन् ।

    सर्बोत्तम सिमेन्टको शेयर बाँडफाँट

    काठमाडौँ । सर्बोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयको लागि जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बुधबार शेयर बाँडफाँट गरिएको हो।

    कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२।९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबर प्रति शेयर अंकितमूल्य १०० दरको ६० लाख कित्ता शेयरको ६० प्रतिशत अर्थात ३६ लाख कित्ता शेयरमध्ये उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको जारी पूँजीको २ प्रतिशतले हुन आउने ९ लाख ३० हजार कित्ता शेयर प्रति शेयर मूल्य ३६० रुपैयाँ ९० पैसाको दरमा बिक्रमा ल्याएको थियो।जसमा जम्मा १,२२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता शेयरको लागि जम्मा ८ करोड ९६ लाख ८४ हजार ७३२ रुपैयाँ ७० पैसाको लागि आवेदन परेको थियो।

    सान्जेन जलविद्युतको साधारण सभा चैत ५ गते

    काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चैत ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन । सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गर्ने भएको छ ।

    घोराही सिमेन्ट ४१ करोड ८४ लाख  नोक्सानमा

    काठमाडौं । घोराही सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।घोराहीले उत्पादन बिक्रीबाट हुने आम्दानीमा झिनो वृद्धि हासिल गरेको छ । अन्य आम्दानी घटेको छ भने बिक्री लागत र वित्तीय लागतमा वृद्धि हुँदा कम्पनी नोक्सानमा गएको हो ।उत्पादन बिक्रीबाट १.४०% ले आम्दानी वृद्धि गरी १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । यद्दपि, बिक्री लागत १ अर्ब ३२ करोड रुपैयाँबाट बढेर  १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।अन्य आम्दानी १० करोडबाट घटेर ११ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय लागत १९ करोड रुपैयाँबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ ।

    यसपटक एनएमबि लघुवित्तको लाभांश वितरण नगर्ने घोषणा

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षबाट सेयरधनीहरुलाई कुनै पनि बोनस सेयर र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार यो लघुवित्त २ करोड २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

    प्रि ओपन सेसन : नेप्से सूचक  १.११ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.११ विन्दुले बढेको छ । यससँगै सूचक २०७१.७१ अंकमा आएको छ । ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो ।

    एनएलजी इन्सुरेन्सको  साधारण सभा फागुन ३ गते 

    काठमाडौं । एनएलजी इन्सुरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५०% बोनस सेयर र  कर प्रयोजनका लागि ०.२८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

    सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज फागुन २ गते बुधबारदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।यस हकप्रद सेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ ।

    दैनिक दुई हजारको हाराहारीमा नेपालीहरू कामको खोजीमा विदेशिन्छन् 

    काठमाडौं । दैनिक दुई हजारको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ ।वैदेशिक रोजगारी विभागको आँकडा अनुसार काम खोज्न दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुकबाट बाहिरिने गरेका छन् ।चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा नयाँ तथा फेरि स्वीकृति लिनेहरूको संख्या ४ लाख ५ हजार ५ सय ५२ रहेको छ ।

    साउनदेखि माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीे रोजगारीका लागि बाहिरिएका छन् । यसलाई ३०ले भाग दिएर हेर्दा औसत दैनिक १ हजार ९ सय ३१ नेपाली बाहिरिरहेको देखिन्छ ।गत आव २०७९÷८० को सोही अवधिको  तुलनामा केही कम नेपाली बाहिरिएको देखिन्छ ।  गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए ।

    तीन विकास बैंक र तीन फाइनान्स कम्पनीहरू केन्द्रीय बैंकको कारबाहीमा

    काठमाडौं । तीन विकास बैंक र तीन फाइनान्स कम्पनीहरू केन्द्रीय बैंकको कारबाहीमा परेका छन् ।नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

    मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गइराएको छ ।मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जा लिने  ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं ।    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

    ६ केजी सुन र ६३लाख नगदसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं ।प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । कास्की  प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो । 

    कास्की प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी मंगलबार साँझ सार्वजनिक ग¥यो । सोमबार रातिदेखि मंगलबार बिहान साढे ४ बजेसम्म लगाएर पक्राउ गरेको  भौमिकको साथबाट छ केजी ६९ ग्राम सुन, छ केजी चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ ।

    २०८१ सालमा ३५ दिन सार्वजनिक विदा

    काठमाडौं । सरकारले २०८१ सालमा हुने विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व विदा परेको छ । ६ वटा दिवस विदा र २ वटा जन्मजयन्ती विदा समेत छ । यस्तै, २०८१ सालमा दशैं र तिहार विदा ५–५ दिन परेको छ । जसमा असोज २४ गते फूलपातीदेखि देखि २८ गते द्वादशीसम्म ५ दिन दशैं विदा रहेको छ । जसको बिचमा एक दिन शनिवार छ । त्यस्तै, कात्तिक १५ गते लक्ष्मीपूजादेखि १९ गतेसम्म ५ दिन तिहार विदा रहेको छ । यसको बिचमा पनि एक दिन शनिवार परेको छ ।

    माओवादी केन्द्रको विधान अधिवेशन : आजका लागि सुझाव सङ्कलन सकियो, भोलि ७ समूहले पेस गर्ने

    काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको छ ।

     

    सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिनुभयो । उहाँले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभयो ।

    बिहीबारदेखि मौसममा सुधार हुने

    काठमाडौँ ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उहाँले जानकारी दिनुभयो । 

    उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उहाँका अनुसार मधेश प्रदेशका एक÷दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ ।

    लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई आह्वान

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । 

    संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट)मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरुलाई यसबाट लाभ लिन आग्रह गर्नुभएको हो । 

    उहाँले भन्नुभयो “नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका लगानीकर्ताहरुलाई आह्वान गर्दछु ।” 

    उहाँले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकीय कतिपय झन्झट कम गरी पारदर्शिता अभिवृद्धि गर्न र व्यावसायिक वातावरण निर्माण गर्न नेपाल सरकार र निजी क्षेत्रका तर्फबाट पहल भइरहेको कुरा पनि सो सम्मेलनमा राख्नुभएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    विकल र सुनिललाई थुनामा राखेर अनसन्धान गर्ने अनुमति

    काठमाडौँ ।   विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

    गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् । रासस

    राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक  थ्रु’ हुँदै

    म्याग्दी ।   नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।  

     

    जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ । राहुघाटको प्रर्वद्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो । 

     

    आयोजनाका व्यवस्थापक राज विष्टले राहुघाटको ६ हजार २०० मिटरमध्ये हालसम्म ९४ प्रतिशत काम पूरा भएको राससलाई जानकारी दिनुभयो । अब ३८० मिटर सुरुङ खन्न बाँकी छ । “अडिट २ र ३ जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङमध्ये ३ हजार ८२२ मिटर खनिएको छ,” उहाँले भन्नुभयो “सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु (वारपार)गर्ने तयारीमा छौ ।” 

     

     

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस