Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ११ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 819
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ११ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ११ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो

    दमौली ।  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो । 

     

    पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले राससलाई जानकारी दिनुभयो । सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीनवटा प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ ।

    अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले फागुन १७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ ।  माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ ।

    स्वरोजगार लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

    नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।लघुवित्तको ७ प्रतिशत  बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, लघुवित्तको शेयर प्रतिकित्ता ६३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

    सर्वोत्तम सिमेन्टले  बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि आइपीओ निष्कासन गर्ने 

    काठमाडौं । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबार फागुन १३ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यसले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
    सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कुमारी बैंकका संस्थापकले ४ हजार कित्ता सेयर बिक्री गर्ने

    काठमाडौ ।  कुमारी बैंकले आफ्ना १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन ११ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    लघुवित्त र सहकारी पीडितहरूको बालुवाटारमा प्रदर्शन 

    काठमाडौँ । लघुवित्त र सहकारी पीडितहरूले राजधानीको बालुवाटार क्षेत्रमा  प्रदर्शन गरेका छन् ।

    न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका लघुवित्त र सहकारी पीडितहरूले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् । 

    सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था पैदा हुन पुगेको थियो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तनावको अवस्था सिजर्ना भयो ।

    मिटर ब्याज पीडितहरूको धर्ना भृकुटीमण्डप सडक खण्डमा

    काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौँ आएका मिटर ब्याज पीडितहरूले  सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना दिएर बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन् ।  

    मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेर चितवनमा भेला भएका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो ।

    ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा 

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । 

    यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६५ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने ग्लोबल आइएमईले विज्ञप्ति सार्वजनिक गरी जनाएको छ ।

    स्याङ्जामा जन्मिएका रमेश श्रेष्ठको व्यवसायिक सफलता : नेपाल ,दुबई, कतार हुँदै युरोपसम्म व्यवसायिक सञ्जाल विस्तार

     काठमाडौं । डेढ दशक अगाडि स्याङजाबाट रोजगारका लागि  आफै दुबई गएका रमेश श्रेष्ठले अहिले स्वदेश र विदेशमा व्यवसाय गरेर कैयौँलाई रोजगार दिइरहेका छन् । सन् २००८मा रोजगारका लगि दुबई गएका रमेश अहिले दुबईमा तीन ओटा कम्पनीका मालिक छन् भने झण्डै १६० जना भन्दा बढीलाई रोजगारी दिइरहेका छन् ।दुबईमा उनका जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सिज, जीसीडी क्लिनिङ कम्पनी  र  जीसीडी डक्युमेन्ट क्लियरेन्स कम्पनी रहेका छन् ।जहाँ रमेशले १६० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । उनका अनुसार कम्पनीहरूमा नेपालीहरूलाई प्राथमिकताका साथ रोजगार दिने गरिन्छ ।

    राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित

    काठमाडौँ ।  राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

     

    विधेयकमाथिको छलफलमा मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, मदनकुमारी शाह ‘गरिमा’, प्रकाश पन्थ, सुरेशकुमार आलेमगर, देवेन्द्र दाहालले भाग लिुनभएको थियो ।

     

    बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।रासस

    बैङ्किङ कसूर तथा सजाय विधेयक दफावार छलफलका लागि समितिमा

    काठमाडौँ । प्रतिनिधिसभाले ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ । 

     

    सभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

    घूस लिएको अभियोगमा मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध रु दुई लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ ।

    थापाथली प्रसुति गृह अस्पतालबाट बच्चा चोरी, प्रहरीद्वारा बच्चा चोरको खोजी

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ ।

    थापाथली प्रसुति गृहको रूपमा विशेषरूपमा परिचित यो अस्पतालबाट शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएकी हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरे अनुसार यो विषयमा अनुसन्धान भइरहेको छ ।

    काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको कथन

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताउँदै  उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए ।

    बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो । “आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमाण्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ”, सांसद भट्टराईले भन्नुभयो, “आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुप¥यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।”

     

    उहाँले सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको बताउनुभयो । युवाको विरोध प्रदर्शन भएको बेला भौतिक, पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको उहाँले आरोप लगाउनुभयो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ ।आज तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा झरेको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस