Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 558
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १६ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा १९.३२  गुणा बढी आवेदन

    काठमाडौं ।  सर्वोत्तम सिमेन्टको आइपीओमा आइपीओमा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज  (फागुन १६ गते) साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । यो  आवेदन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १९.३२ गुणा बढी हो ।

    गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमाः पोषराज पौडेल

    भक्तपुर । सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् ।
    बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानतरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले हरेक पाईलामा जोखिम रहेकाले त्यसलाई ट्रान्सफर गर्न आग्रह गरे ।
    जोखिमलाई ट्रान्सफर गर्न नसके विकास खर्चलाई समेत प्रभाव पार्ने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । भुकम्पको समयमा बीमा कम्पनीले १६ अर्ब रकम भुक्तानी गरेको भन्दै उनले अब सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता समेत नबाँडने कुरा आएकाले बीमाको विकल्प नभएको बताए ।
    नेपालमा संस्थागत रुपमा ६ प्रतिशत र अभिकर्तामार्फत ९० प्रतिशत बीमा बिक्री हुने गरेको छ ।

    व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

    नवलपरासी ।  अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । 

     

    उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० को उद्घाटन गर्दै मन्त्री डा महतले राजस्व सङ्कलन, बाह्य पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो ।

    हाथवे इन्भेष्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २३ लाख ४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    शेयर बजार : ०.८७ अंकले घटेर नेप्से २०००.७७ विन्दुमा ,  २ अर्बको कारोबार

    काठमाडौं । आज नेप्से ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा आएको छ । यस दिन २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ३०८ कम्पनीको ५१ लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ६ वटा समूह सकारात्मक बनेका छन् । १२ करोड ६९ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र बोटलर्स नेपाल तराई परेका छन् ।

    नबिल बैंकको ३० लाख इकाई डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिले बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ । यस बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९५ नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री गरेको थियो । सोही ऋणपत्र सूचीकरण गरिएको हो ।

    पशुपती रिन्युएबल्सले आइपीओ जारी गर्ने ,  साधारण सभा चैत ७ गते 

    काठमाडौं । पशुपती रिन्युएबल्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत ७ गते लिसरा रिसेप्सन्स, नक्साल, काठमाडौंमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा १५.३८ गुणा बढी आवेदन

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा बुधबार बिहान १०ः३५ बजेसम्ममा १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ । सीडीएसका अनुसार यसमा ७ लाख ९९ हजार ९६२ जनाले ४ करोड २७ लाख १ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.३८ गुणा बढी आवेदन हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

    नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदका लागि आवेदन खुला

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बुधबार सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ । इच्छुक नागरिकले आज (फागुन १६ गते) देखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

    एनआइसी एसिया बैंकको ५ लाख १३ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आज (फागुन १६ गते) देखि ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

    कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते

    काठमाडौं ।  कृषि विकास बैंकले फागुन ३० गते साधारण सभा बोलाएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।  बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ ।

    केन्द्रीय बैंकद्वारा मुद्दती निक्षेपमा ३८ करोड लगानी गर्ने घोषणा, योग्य बैंकहरूबाट बोलपत्र आह्वान

    काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले  कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड गरी कुल ३८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीहरूको ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।

    नेपाल विद्युत प्राधिकरणको पहिलो ६ महिनामा सवा १५ अर्ब बढी मुनाफा  

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष(आव)को पहिलो ६ महिनामा सवा १५ अर्ब रुपैयाँ  बढीको मुनाफा कमाएको छ ।चालु आव २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ प्राधिकरणले नाफा कमाएको हो ।

    सो अवधिको अपरिष्कृत विवरण अनुसार विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत  खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । 

    प्राधिकरणले समीक्षा अवधिमा करकट्टी गर्न अघि आर्जित मुनाफा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

    पृतनापति समन्वयात्मक बैठकः सुरक्षा चुनौती आकलन गर्न रक्षामन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताउनुभएको छ । 

    नेपाली सेनाको आयोजनामा आजदेखि यहाँ सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताउनुभयो ।

    विद्युतीय व्यापार विधेयकमा निजी क्षेत्रको सुझाव 

    काठमाडौँ ।  नेपाल उद्योग परिसङ्घ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेस गरेका छन् ।

                    

    परिसङ्घसहित तीन संस्थाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति भानुभक्त जोशीसँग छुट्टाछुट्टै भेट गरी प्रस्तावित विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव पेस गरेका हुन् । परिसङ्घको सूचना प्रविधि परिषद्का सभापति अजित विक्रम शाहसहितको टोलीले मङ्गलबार मन्त्री शर्मासँग भेट गरी विद्युतीय व्यापारसम्बन्धी व्यवस्था ल्याइनु सकारात्मक भए पनि विधेयकको परिभाषा, विद्युतीय व्यापार सम्बद्ध पक्षको दायित्व, सजायको व्यवस्था तथा अन्तर्राष्ट्रिय बजारमा पहुँचजस्ता प्रमुख पक्षमा स्पष्ट गर्न आग्रह गरेको छ ।

    मिटरब्याज पीडितहरूका समस्या सरकार र अदालतको समन्वयमा पूर्णतया समाधान हुने प्रधानमन्त्री प्रचण्डको भनाइ 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका समस्या  सरकार र अदालतको समन्वयमा मात्र पूर्णतया समाधान गर्न सकिने बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको छलफलमा  प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    यसअघि मिटरब्याज पीडितका समस्या समाधान गर्ने केही प्रयास भएको जनाउँदै प्रधानमन्त्री प्रचण्डले त्यो पूर्ण नभएको र त्यो अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिका रहेको बताए ।प्रधानमन्त्रीले भने   “बाँकी रहेको समस्या सरकारको कारणभन्दा अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने प्रकृतिको छ किनभने मिटरब्याजको समस्या जटिल र गहिरो अनि आर्थिक मात्र नभएर सामाजिक, सांस्कृतिक समस्या पनि रहेछ ।”

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस