काठमाडौं । देशमा आर्थिक गतिविधि बढ्न नसक्दा सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा हुन नसक्ने देखिएको छ । विगतको तुलनामा आन्तरिक अर्थतन्त्रमा सुधार हुन थालेको देखिएपनि आर्थिक गतिविधि बढ्न नसकेकोले राजस्व संकलनको लक्ष्य पूरा हुन नसक्ने विज्ञहरूले बताएका हुन् । आन्तरिक राजस्व विभागले माघ मसान्तसम्म संकलन गरेको तथ्यांकअनुसार अघिल्लो दुई वर्षको तुलनामा यसपटक राजस्व वृद्धि भएको देखिन्छ ।
विभागले मूलतः व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानको आम्दानी, औद्योगिक उत्पादन, वस्तु तथा सेवाको बिक्री, पर्यटन र निर्माण क्षेत्रलाई प्रतिनिधित्व गर्ने राजस्वसम्बन्धी तथ्यांक संकलन गरेअनुसार आन्तरिक राजस्व संकलन गत आर्थिक वर्ष ०७९/८० को तुलनामा चालू आव ०८०/८१ को सात महिनामा १०.२६ प्रतिशत बढेको छ ।
चालू आवको माघसम्म दुई खर्ब ७८ अर्ब ९९ करोड आन्तरिक राजस्व संकलन भएको छ । गत आवको सोही अवधिसम्म दुई खर्ब ५३ अर्ब तीन करोड आन्तरिक राजस्व उठेको थियो । तथ्यांक अनुसार आव ०७÷७९ को माघसम्म दुई खर्ब ५६ अर्ब संकलन भएको थियो । समग्रमा आन्तरिक राजस्वमा दुई वर्षयता सुधार भएको देखिन्छ । तर चालू आवको तीन खर्ब ४७ अर्ब रुपैयाँ भन्दा संकलित हुने राजस्व लक्ष्य भन्दा कम हो । सर्वाधिक राजस्व संकलन हुने पुस महिना पनि सकिसकिएको छ । त्यसैले संकलनमा सुधार भएपनि लक्ष्य पूरा हुनेमा आशंका गरिएको छ ।
अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यले जानकारी सार्वजनिक गरे अनुसार १० प्रतिशतको वृद्धिले राजस्व संकलन दुई वर्षअघिको अवस्थामा फर्किएको भन्न सकिने भएपनि सुधारको बाटोमा रहेको बताउन सकिने छ ।आर्थिक गतिविधि नबढाएसम्म राजस्व संकलनमा वृद्धि हुन नसक्ने राजस्वसम्बन्धी जानकारहरू बताउँछन् ।