Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

विराटनगरका होटल व्यवसाय राति १२बजेसम्म खुला रहने 

विराटनगरका होटल व्यवसाय राति १२बजेसम्म खुला रहने 

  • काठमाडौं ।  विराटनगर महानगरपालिका भित्रका होटल व्यवसाय राति १२ बजेसम्म खुला रहने भएको छ ।यस अघिको प्रशासनिक प्रावधानमा परिवर्तन गरी राति १० बजेसम्मको समयलाई विस्तार गरी होटल व्यवसाय सञ्चालनका लागि राति १२ बजेसम्मको समय तोकिएको हो ।

    विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने गरिएको निर्णय महानगरका मेयर नागेश कोइरालाले जानकारी गरेका छन् ।

    व्यवसायीको गुनासो सम्बोधन गर्नका लागि महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक राखी यस्तो निर्णय गरेको हो ।

    बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ । सो सिफारिस अनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij