काठमाडौं । सेयर बजारमा मार्जिन कारोबार असफल हुनुमा ब्रोकर कम्पनीहरूसँग पर्याप्त कोष नहुनु रहेको कतिपयको ठम्याइ रहेको छ । कार्यविधि बनाएर मार्जिन कारोबार सञ्चालनमा रहेको भएपनि यसले अपेक्षित सफलता पार्न नसकेको हो ।
ब्रोकर कम्पनीबाटै केही रकम सापटीका रूपमा लिएर सेयर खरिद गर्नुलाई मार्जिन कारोबार भनिन्छ । मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ साल कात्तिकमा निर्देशन जारी अनुरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ कार्यान्वयनमा ल्यायो ।यिनै व्यवस्था अनुसार ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सेवा सञ्चालन गरे पनि हाल कतिपयले यो सफल हुन नसकेको बताउँछन् ।यो सेवा अन्तर्गत मार्जिन कारोबार गर्न सीमा सुविधा दिनेहरू मध्ये कतिपयले कोष पर्याप्त नभएका कारण मार्जिन कारोबार बन्द गर्न थालेका छन् ।
मार्जिन कारोबार गर्न दिइएको सीमा सुविधाबाट रकम फिर्ता हुन नसकेकाहरूलाई थप सीमा नबढाउने गरी उनीहरूले मार्जिन कारोबारप्रति हतोत्साहित बन्न पुगेका छन् ।
मार्जिन सेयर कारोबार असफल हुने प्रमुख कारण भनेको ब्रोकर कम्पनीहरूसँग पर्याप्त लागतको कोषको अभाव हुनु हो । सहायक कारणहरूमा कारोबारका लागि पर्याप्त प्रडक्ट नहुनु हो । कारोबारका लागि नयाँ प्रडक्ट नहुँदासम्म मार्जिन कारोबार विस्तार हुन कतिपयको बुझाइ रहेको छ । नेपालको धितोपत्र बजारमा एकै दिन भएको कारोबारबाट लगानीकर्ताले फाइदा लिने सुविधा छैन् । यसलाई सेयर कारोबारीहरू माझ ‘इन्ट्राडे’ भनेर बुझिन्छ । मार्जिन लेन्डिङ लिएर कारोबार गर्नेहरूले सोही दिन फाइदा लिन पाउने प्रबन्ध अन्य देशका सेयर बजारमा रहेपनि यहाँ भने छैन् ।
सेयर बजारमा सक्रिय एक कारोबारीले जनाए अनुसार भएभरको रकम लगाएर सेयर किनेर केही बेरमै बेचेर लाभ लिन सकिने सुविधा भए मार्जिन कारोबारको फाइदा प्राप्त हुन्छ । यस्तो नहुँदा सेयर धितो राखेर बैंकले नै सजिलै ऋण नदिने भएकाले ब्रोकरले दिने मार्जिन लोन पनि सेयर धितो रहेजस्तै हुने कारोबारहीहरूको भनाइ छ ।ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारका लागि आवश्यक रकम आफ्नै स्रोत वा वाणिज्य बैंकबाट ऋण लिई जुटाउन सक्ने व्यवस्था मार्जिन कारोबार सुविधासम्बन्धी प्रावधान कार्यविधिमा गरिएको छ । यसरी बैंकबाट ऋण लिएर लगानी गर्दा ब्रोकर कम्पनीको ब्याज तथा सेवा शुल्क लगानीकर्तालाई महँगो पर्न जाने भएकाले ब्रोकर कम्पनीबाट हुने मार्जिन कारोबार बैंक लागतसँग प्रतिस्पर्धात्मक लाभ दिन नसक्ने हुन्छ ।कम लागतमा पर्याप्त कोषको प्रचुरता नभए मार्जिन कारोबार गर्न नसकिने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाको बुझाइ छ ।
हाल लगानीकर्ता आफैंले सेयर धितो राखेर मार्जिन लेन्डिङ प्रकृतिको कर्जा बैंकबाट पाउने गरेका छन् । व्यक्तिगत लगानीकर्ताले १५ करोडसम्म र संस्थागत लगानीकर्ताले २५ करोड रुपैयाँसम्म ऋण पाउने व्यवस्था छ । यस्तोमा केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको कठोर नीतिले पनि काम गरिरहेको छ । बैंकहरूबाट प्रवाह हुने सेयर कर्जामा राष्ट्र बैंकले नै नीतिगत व्यवस्था गरिदिँदा धितोपत्र बजारलाई यसले सिधा असर पार्ने गरेको छ । लगानीकर्ताहरूले यसको विरोध गरिरहेका छन् । उनीहरूले ब्रोकर कम्पनीबाटै मार्जिन लेन्डिङ उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।
सेयर धितो कर्जामा बैंकले लिने ब्याजसरह प्रतिस्पर्धा गर्न सक्ने स्थिति कायम गर्न एक अलग कोष खडा गर्नुपर्ने आवश्यकता लगानीकर्ताहरूले औँल्याएका छन् ।
बैंकहरूले ब्रोकरलाई के आधारमा ऋण दिने, बैंकले ब्रोकरबाट लिने ब्याज कति हुने, ब्रोकर कम्पनीहरूले सेवाग्राहीबाट लिने ब्याज तथा शुल्क कति हुने, मार्जिन कारोबार अवधि तथा सेटलमेन्ट प्रक्रियाबारे थप नीतिगत व्यवस्थामा लचकता अनपाउन जरुरी रहेको ब्रोकर कम्पनीहरूको बुझाइ छ ।सरोकारवाला सबै निकायले नीतिगत व्यवस्था गरी सेयर बजारलाई सपोर्टसिस्टम प्रदान गर्न ढिलाइ गर्न नहुने उनीहरू बताउँछन् । मार्जिन कारोबारका झन्झटिला प्राविधिक विषयलाई हटाउनुपर्ने र कारोबार गर्न ब्रोकर कम्पनीले छुट्टै मार्जिन खाता खोलिदिनुपर्ने तथा मार्जिन खाताको वास्तविक मार्जिन गणना दैनिक गर्नुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनीहरू बताउँछन् ।
मार्जिन कारोबारका लागि छुट्टै डिम्याट खाता खोलिसकेपछि ग्राहकले त्यो खाताबाट किनेको सबै सेयर ब्रोकरको सेतु खाता (पुल एकाउन्ट) मा जान्छ । ग्राहकले जहिले रकम चुक्ता गर्छन्, त्यसपछि पुल एकाउन्टबाट सेयर खुला गरी सबै स्वामित्व ग्राहककोमा जाने गर्छ । ग्राहकको मार्जिन खातामा भएको सेयरको वास्तविक बजार मूल्य हिसाब गर्न ब्रोकरले नै ब्याकअप सिस्टम व्यवस्था गर्नुपर्छ ।त्यही हिसाब आधारमा ब्रोकर कम्पनीले सेयर मूल्य घट्दै गए मार्जिन कल गरेर ग्राहकसँग तोकिएको मार्जिन रकम कायम गर्नुपर्छ । लगानीकर्ताको मार्जिन खाता गणना गरी प्रत्येक दिन कारोबारको अन्तिम मूल्यका आधारमा ४० प्रतिशतभन्दा माथि नै वास्तविक मार्जिन कायम गर्नुपर्छ । ४० प्रतिशतभन्दा कम भए ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । कार्यविधि अनुसार ब्रोकरले मार्जिन कल गरेपछि लगानीकर्ताले कम्तीमा ४० प्रतिशतभन्दा माथि पुग्ने गरी थप नगद बुझाउनुपर्छ वा लगानीकर्ताले आफ्नो नियमित डिम्याट खाताको सेयर मार्जिन खातामा स्थानान्तरण गरेर पनि ४० प्रतिशतभन्दा माथि पु¥याउन सक्नेछन् ।
अर्को तरिकाले बुझ्नु पर्दा १० लाखको सेयर खरिद गर्दा लगानीकर्ताले ५० प्रतिशत अर्थात् ५ लाख रुपैयाँ भुक्तानी गरेको छ र बाँकी ५ लाख ब्रोकरमार्फत लिएको छ । पछि सेयर मूल्य घट्दै गएर ८ लाखमा झ¥यो, जुन मूल्यमा ५ लाख ब्रोकरमार्फत मार्जिन रकम तिरिएको छ, यस्तो अवस्थामा ग्राहकको रकम नै ३ लाखमा झरेको मानिन्छ र ग्राहकले थप रकम भुक्तानी गर्नुपर्छ वा मार्जिन खातामा थप सेयर राख्नुपर्छ ।लगानीकर्ताले थप सेयर वा नगद भुक्तानी नगरे ब्रोकर कम्पनीले चौथो कार्य दिनमा मार्जिन खातामा रहेको कुनै पनि कम्पनीको सेयर बिक्री गर्न सक्ने व्यवस्था भए अनुसार सेयर बिक्री गर्न ब्रोकर कम्पनीलाई लगानीकर्ताको अनुमतिको कुनै आवश्यकता पूरा गर्नु पर्दैन् ।
सो सेयर बिक्रीबाट ब्रोकरले लगानीकर्ताको मार्जिन दर ४० प्रतिशतभन्दा माथि पु¥याइदिन सक्ने छन् । कर्जाको भाखा नाघेर नवीकरण नभएको अवस्था वा मार्जिन कर्जा चुक्ता नगरेको अवस्था बाहेक अन्य कारण ब्रोकर कम्पनीले लगानीकर्ताको सेयर बिक्री गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।कुनै पनि सेयर खरिद गर्दा उक्त सेयरको कुल मूल्यमा कम्तीमा ५० प्रतिशत रकम लगानीकर्ताले नै चुक्ता गर्नुपर्छ र बाँकी बढीमा ५० प्रतिशत रकम ब्रोकर कम्पनीले सापटी दिने प्रावधान भएपनि सेयर खरिदपछि मूल्य घट्दै गए ब्रोकर कम्पनीले मार्जिन कल गर्ने र लगानीकर्ताले थप रकम चुक्ता गर्नुपर्ने हुन्छ । सेयर मूल्य बढ्दै गएको रहेछ भने ५० प्रतिशतभन्दा कम नहुने गरी सेयर झिक्न वा नियमित कारोबार खातामा सार्न सक्नेछन् ।यसैगरी लगानीकर्ताले रकम चुक्ता गर्न नसके ब्रोकर कम्पनीले सेयर बिक्री गरेर आफ्नो रकम असुल्न सक्ने र बाँकी रकम लगानीकर्तालाई नै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।ब्रोकर कम्पनीले आफ्नो सम्पत्ति मूल्य (नेटवर्थ) को दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था छ । १० करोड नेटवर्थ भएका कम्पनीले २० करोड रुपैयाँसम्म मात्रै यस्तो कर्जा दिन सक्ने प्रावधान छ ।
एकाघर परिवारका सदस्यलाई नेटवर्थको १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार दिन पाइँदैन । १० करोड नेटवर्थ भएका कम्पनीले एक व्यक्ति वा त्यो व्यक्तिको एकाघर परिवारका सदस्यलाई १ करोडभन्दा बढी रकम दिन नपाइने व्यवस्था छ । मार्जिन कारोबार सुविधा दिनुभन्दा अघि नै ग्राहकसँग ब्रोकरले लिने सेवा शुल्क तथा ब्याज, खरिद गर्ने सेयर विवरण, मार्जिन कलका सर्तहरूमा सम्झौता गर्नुपर्ने हुन्छ ।मार्जिन लेन्डिङको सुविधा हरेक कम्पनीको सेयर खरिदमा पाइँदैन । मार्जिन कारोबार सम्बन्धी निर्देशिकाले स्पष्ट पारे अनुसार विगतका दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिएका, कम्तीमा १० हजार सेयरधनी रहेका कम्पनीको सेयर खरिदमा मात्रै यो सुविधा पाइन्छ ।
कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नभएको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गरेका कम्पनीमा मार्जिन कारोबार सुविधा दिन सक्ने व्यवस्था छ ।नेप्सेले यसका लागि सूचना सार्वजनिक गर्ने गरेको छ ।यो वर्ष १ सय १२ कम्पनीलाई नेप्सेले मार्जिन कारोबार गर्न योग्य ठहर गरिएको छ । गत वर्षको ८७ कम्पनीको तुलनामा यसपालि मार्जिन कारोबारका लागि कम्पनी थपिएका छन् ।