Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित


नया सडक

२०८०, चैत १ बिहीबार

  • 678
    Shares

  • टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

    वासिङ्टन ।टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

    भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । 

    टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामस चिन्ता पैदा गरेको छ ।

    टिकटकका बिषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । 

    रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्वपूर्ण मानिन्छ । 

    अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले मतदानपछि भन्नुभयो, “आजको मतदानमा द्विदलीय एकताले चीनले अमेरिकीहरूमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”

    उहाँले भन्नुभयो, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।”

    यो विधेयकको भविष्य सिनेटमा अनिश्चित रहेको छ । सिनेटमा १७ करोड अमेरिकी प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएको एपविरुद्ध कठोर कदम चाल्नेबारे अझै केही अमेरिकी विधायक अनिर्णित र केही पक्षमा नै देखिन्छन् । 

    अमेरिकी राष्ट्रपति जो बाइडनले ‘प्रोटेक्टिङ अमेरिकन्स फ्रम फरेन एड्भर्सरी कन्ट्रोल्ड एप्लिकेसन एक्ट’ नामक विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसले जनाएको छ ।

    “यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,” टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भन्नुभएको छ । 

    “हामी आशावादी छौं सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसायहरू र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीहरूसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ ।

    मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरूसहित आफ्ना कथाहरू बोल्न र साझा गर्न आग्रह गरेका थिए ।

    सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा उहाँले भन्नुभयो, “हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानुनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौं ।”

    “हामीलाई विश्वास छ हामी ९टिकटक र यसका प्रयोगकर्ता० मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौं । आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस् । तपाईहरू आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस् ।” 

    सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक रहेको छ । उहाँले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा’ गर्नेछ बताउनुभएको छ । 

    टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस