Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 726
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत ६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ६ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    शेयर बजार : नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घट्यो ,३ अर्ब ६३ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेको छ ।  यस दिन ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये जम्मा ३ वटा समूहमात्र सकारात्मक भएको छ । 
    यस दिन ३०७ कम्पनीको ९४ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ९७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र गोर्खाज फाइनान्स परेका छन् ।

    छिमेक लघुवित्तको १ हजार ६२८ कित्ता संस्थापक शेयर  विक्री खुला

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।कम्पनीले १ हजार ६२८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।शेयर मूल्य प्रकितकित्ता रू. ५ सय तोकिएको छ ।  ऊक्त शेयर खरीद गर्न इच्छुक अन्य ब्यत्ती वा संस्थाले तोकेको मापदण्ड अनुसार यो सूचना प्रकाशित भएको आजको मितीले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

    कुमारी सबल योजनाको इकाई नेप्सेमा सूचीकृत

    काठमाडौं । कुमारी सबल योजना नेप्सेमा सूचीकृत भएको छ ।  कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को ७ करोड ४४ लाख ७५ हजार ०७० इकाई नेप्सेमा सूचीकरण गरिएको हो । माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो । कुमारी क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो ।

    नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । नेपाल फाइनान्सले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको कम्पनीले जानकारी गराएको छ ।यसमा आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक १ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ विन्दुले बढेको छ । यससँगै सूचक २०७४.५३ अंकमा आएको छ । २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८० वटा कारोबार भएको हो ।

    डिप्रोक्स लघुवित्तको साधारण सभा चैत २५ गते , लाभांश वितरण  प्रस्ताव पारित गर्ने

    काठमाडौं ।  डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।  गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा चुनाव लाग्यो ,अध्यक्षमा तीन जनाको उम्मेदवारी

    काठमाडौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौँ अधिवेशन आउन केही दिन मात्रै बाँकी रहँदा अध्यक्ष पदका लागि चार आकांक्षी चर्चामा देखिएका छन्। उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक फोरमबाट अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन्। 

    बाह्रबिसे नगरपालिकाका तीन जना व्यापारी बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री अध्यक्ष पदको उम्मेदवारी दिने भनिरहेका छन् भने  
    चैत ९ र १० गते हुने भनिएको उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदको दाबेदारी उनीहरूबाट भइआएको छ ।

    भन्सारमा चरम बेथिति रहेको र भन्सार लुटेराहरूको स्थल भएको सांसदहरूको भनाइ

    काठमाडौं । सांसदहरूले भन्सार लुटेराहरूको स्थल भएको र बदानमीहरूको पर्यावाची बनेको बताएका छन् । सरकारले ल्याएको “भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक”माथि सैद्धान्तिक छलफलमा भाग लिँदै  छलफलमा भाग लिने सांसदहरू यस्तै आसय व्यक्त गरेका हुन् । 

    सरकारले  भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित बनाउन र महसुल संकलनमा दक्षमता तथा प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पु¥याउन आवश्यक भएको र नेपालले भन्सारका प्रक्रियाहरूको सरलीकरण एवं सामान्जस्यीकरण सम्बन्धी महासन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन)मा सम्मिलन गरिसकेकाले सो महासन्धि बमोजिमका प्रावधानहरूलाई कानुनमा व्यवस्था गरी कार्यान्वयन गर्न स्वदेशी उद्योगको संरक्षण, निकासी प्रबद्र्धन र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुने गरी भन्सारका प्रक्रियाहरूलाई  सरल , प्रभावकारी र प्रविधिमैत्री बनाई वैध व्यापारको सहजीकरण र अवैध व्यापारको प्रभावकारी नियन्त्रण गर्न भन्सार सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न आवश्यक भएकोले सो विधेयक प्रस्तुत पेश गर्नु परेको जनाएको हो ।

    चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने चिनियाँ राजदूतको अर्थमन्त्रीसमक्ष प्रतिबद्धता

    काठमाडौं । चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसमक्ष प्रतिबद्धता व्यक्त गरेका छन् ।चिनियाँ राजदूत छनले अर्थमन्त्री पुनसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा गरेको भेटवार्ताको क्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    भेटमा राजदूत छनले दोस्रोेपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई कार्यकाल सफलताको कामना गर्दै  चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरे । पुनले  चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए ।

    आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

    भक्तपुर । नयाँवर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७०/८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । 

     

    उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले बताउनुभयो । एक सय ५१ भन्दा बढी प्रदर्शनी कक्ष रहने महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेकट्रोनिक्स सामान आदिका कक्ष रहने उहाँले बताउनुभयो ।

    सुनको मूल्य प्रतितोला  सात सयले बढ्यो

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो । 

     

    यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ ।

    साझा सङ्कल्प :  नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास

    काठमाडौँ ।   सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ । 

          

    “नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियहितको रक्षालाई केन्द्रबिन्दुमा राख्नेछ”, सरकारको योजनामा भनिएको छ, “ संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा न्यायमा आधारित स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नेछ ।”

    निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका  प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ  : पूर्वअर्थमन्त्री कार्की

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।
         
     उहाँले निवर्तमान अर्थमन्त्रीले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं  आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको छ भन्नुभयो ।  ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्नुहुँदै पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताउनुभयो ।

    यो समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पार्नुभएको छ ।

     

    सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।

    साझा सङ्कल्प : आर्थिक शिथिलता अन्त्य , बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त

    काठमाडौँ ।  पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको छ । 

     

    सत्तारुढ पाँच राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने उल्लेख छ ।

    अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

    काठमाडौँ । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

     

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङगा गुरुङ, काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौँको गोकर्णेश्वर–४ नामगेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

     

         कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ । लामिछानेमाथि लागेको उक्त आरोपमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुुहुँदै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।

    मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो

    जलेश्वर । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । 

     

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा रु ११ करोड १५ लाख ३८ हजार चार सय ९२ को मिलापत्र गराइएको हो । उहाँका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९  निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।

    रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु

    काठमाडौँ ।   रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । १६ नेपालीको मृत्यु भएको जानकारी प्रप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।मृत्युको बारेमा थप जानकारीलाई डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । यो सँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

    घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो

    ढोरपाटन ।  “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो”, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाउनुभयो । 

     

    उहाँका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । “रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले  सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ”, उहाँले भन्नुभयो, “पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरुले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।”

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस