Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ– भारतीय प्रधानमन्त्री मोदी


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 474
    Shares

  • ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ– भारतीय प्रधानमन्त्री मोदी

     

    थिम्पु (भुटान)। 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भुटान भ्रमणका क्रममा भारत र भुटानको लक्ष्य समान रहेको बताउनुभएको छ । उहाँले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ ९बिबी० दुवैलाई सफल पार्न भारतले हरेक पाइलामा सहयोग गर्ने आश्वासन दिनुभयो ।  

     

    तासिछो जोङ दरबारमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गर्नुभयो । “भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो । दश वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु”, उहाँले भन्नुभयो ।

     

    भुटानलाई भारतको समर्थन रहेको पुष्टि गर्दै उहाँले भन्नुभयो, “भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन् । भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ । यहाँहरूको यो लक्ष्य पूरा गर्न बिबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ ।” 

     

    “एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ । भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो । भारत र भुटानबीचको सम्बन्ध अटुट छ । हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ”, दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो । 

     

    आफूलाई हिमाली देशको सर्वोच्च सम्मान ’अर्डर अफ द ड्रुक’ प्रदान गरेकामा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई धन्यवाद दिनुभयो । उहाँ यो सम्मान प्राप्त गर्ने प्रथम विदेशी सरकार प्रमुख हुनुहुन्छ ।

     

    “आज मेरा लागि एक भारतीयका रूपमा ठूलो दिन हो । यहाँले मलाई भुटानको सर्वोच्च राष्ट्रिय अवार्डले सम्मान गर्नुभयो । हरेक अवार्ड आफैँमा विशेष हुन्छ, तर जब अर्को देशबाट अवार्ड प्राप्त हुन्छ त्यसले दुवै देशबीचको सम्बन्ध सही दिशामा बढिरहेका छ भन्ने आत्मविश्वासलाई बलियो बनाउँछ । यो मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारत र एक अर्ब ४० करोड भारतीयको उपलब्धि हो । म भुटानको यस महान भूमिमा सबै भारतीयको तर्फबाट यो सम्मानलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र यस सम्मानका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो । 

     

    यसअघि प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकसँग थिम्पुस्थित तासिछो जोङ दरबारमा भेटवार्ता गर्नुभएको थियो । उहाँ भुटानी राजाको उपस्थितिमा तेन्द्रेलथाङ महोत्सव मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । 

     

    प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेट गरी द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभएको थियो । दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता गर्नुभयो । 

     

    विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी गर्नुभयो । 

     

    प्रधानमन्त्री मोदीले थिम्पुको होटलबाहिर उहाँलाई स्वागत गर्न बसेका भुटानमा रहेका भारतीय मूलका नागरिक र भुटानका स्थानीय जनतासँग पनि कुराकानी गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस