Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
स्थलगत रिपोर्टिङ : ३

वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा फस्टायो चोरी तस्करी


२०८०, चैत ११ आइतबार

  • 1.5k
    Shares

  • वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा फस्टायो चोरी तस्करी

    वीरगञ्ज ÷काठमाडौं । मुलुकको सबै भन्दा ठुलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार प्रशासक , प्रमुख भन्सार अधिकृतद्वय  तथा भन्सार अधिकृतहरू र अन्य कर्मचारीहरूको मिलोमतोमा चरम अनियमितता र भ्रष्टाचार भएको रहस्य खुलेको छ ।प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी , प्रमुख भन्सार अधिकृतद्वय राजेन्द्र ढुंगाना र केशवराज ओली, भन्सार अधिकृत रामचन्द्र शर्मा ढकाल तथा अन्य कर्मचारीहरूकै मिलेमतोमा भन्सार नाकाबाटै अनियमित तरिकाले मालवस्तु छुटाउने गरेको रहस्य खुलेको हो ।

    केही दिन अगाडि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले व्यवसायी मदन गुप्ता(रुन्चे)ले सञ्चालन गर्दै आएको जय माँ दुर्गा क्यारियरको गोदाममा छापा मारेर लाखौँ मूल्य बढीको लत्ताकपडा पक्राउ परेपछि भन्सार कर्मचारीहरूकै मिलेमतोमा भन्सार नाकाबाटै अनियमित तरिकाले तस्करहरूसँग मिली सामान छुटाउने काम कर्मचारीहरूले नै गरेको वीरगञ्जका व्यवसायीहरू बताउँछन् । प्रहरीले मदन गुप्ताको गोदाममा छापामारी २० लाख भन्दा बढीको लत्ताकपडा बरामद गरेको थियो । 

    यस्तै गत हप्ता अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको ट्रकलाई प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको थियो । झण्डै दुई करोड तिरासी लाख बराबरको सामानसहित प्रहरीले बिल बिजक भन्दा कयौँ गुणा बढी सामान पाएपछि  ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको हो । भन्सार नाकाबाट छुटेको सो ट्रक अहिले राजस्व अनुसन्धान कार्यालय पथलैयाले अनुसन्धान गरिरहेको छ ।केही दिन अगाडि पर्सा प्रहरीले भन्सार नाकाबाटै आएका  ३३ लाख बराबरको मालवस्तु पक्राउ गरी फेरि भन्सार कार्यालयमै पठाएको थियो । पर्सा प्रहरीले केही दिन अगाडि ६७ लाख भन्दा बढीको माल सामान र ट्रक नियन्त्रणमा ली राजस्व अनुसान्धान कार्यालय पथलैयामा पठायो ।  ना ३ ख ७६५६ र प्र ३–०३–००१ ख ०० ९८ नम्बरको ट्रक नियन्त्रणमा ली पर्सा प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया पठायो ।

    यस्तै पर्सा प्रहरीले ना ४ ख ८७४०, ना ३ ख ६०९५ नम्बरको ट्रक वीरगञ्जबाट  काठमाडौं जाने क्रममा  पक्राउ ग¥यो । उक्त ट्रकमा १ करोड ६३ लाख भन्दा बढीको मालवस्तु रहेको पर्सा प्रहरीले मुचुल्का उठायो ।भन्सार कार्यालयबाटै  आएका यी मालवाहक ट्रक तथा मालवस्तुहरू भन्सार कर्मचारीकै मिलोमतो बिना कसरी निर्बाधरूपमा आउन सक्छन् ? यी माथिका केही उदाहरण मात्र हुन् ।यस्ता करोडौँका मालवस्तुहरू भन्सार कार्यालयबाटै मिलेमतोमा छुट्ने गरेको व्यापारी अकबर अलि बताउँछन् ।

    वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पु¥याउन सकेन

    मुलुकको सबै भन्दा ठुलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेन । चालु आर्थिक वर्ष २०८०/०८१को सुरुको आठ महिना फागुन मसान्तसम्म राजस्व संकलनको लक्ष्य पूरा गर्न त परको कुरा गत आवको तुलनामा २ प्रतिशत पनि वृद्धि गर्न नसकेको हो ।
    सरकारले यो चालु  आवमा भन्सार प्रशासनमा  सुधार गरी निर्धारित राजस्व संकलनको लक्ष्य पूरा गर्ने अपेक्षा गरेको थियो । तर भन्सार कार्यालयमा भएको र हुने गरेको चरम बेथिति र भ्रष्टाचारले गर्दा  वीरगञ्ज भन्सार कार्यालयले अपेक्षित राजस्व संकलन गर्न नसकेको हो ।

    विगत आर्थिक वर्ष २०७८÷०७९मा वीरगञ्ज भन्सार कार्यालयले सो अवधिको सुरुको आठ महिना फागुन मसान्तसम्म लक्ष्यको १०४ प्रतिशतले राजस्व संकलन गरेको थियो । राजस्व संकलनका विभिन्न शीर्षकहरू मध्ये भन्सार महसुल आयात १०१ प्रतिशत प्राप्त भएको थियो । सोही अवधिमा मूल्य अभिवृद्धि कर १३४ प्रतिशत र पूर्वाधार कर १०० प्रतिशत लक्ष्य पूरा गरेको खुद वीरगञ्ज भन्सार कार्यालयले दर्शाएको आँकडाले भन्छ ।

    तर यो राजस्व संकलनमा गत आव २०७९/०८०मा गिरावट आउँदा सरकारले चालु आवमा सुधार हुने विश्वास लिएको थियो । तर त्यहाँ गएका प्रमुख प्रशासक डिलाराम पन्थीले सरकारी खजाना भर्नुको साटो अन्यत्र ध्यान दिँदा राजस्व संकलन पूरा हुन नसकेको हो । चालु आव २०८०/०८१ फागुन महिनासम्म ६१ दशमलव ८५ प्रतिशत मात्र राजस्व संकलन भएको हो । यो संकलन २०७९/०८०को ६० दशमलव ३५मा डेढ प्रतिशतको वृद्धि हो ।  यसमा भन्सार महसुल आयात ५७.८२ प्रतिशत ,मूल्य अभिवृद्धि कर ६३.९७ प्रतिशत पूर्वाधार कर ६४.०३ प्रतिशत गरी कुल ६१.८५प्रतिशत लक्ष्य मात्र पूरा भएको छ । 

    उद्योगी व्यापारीहरूबाट मौखिकरूमा अतिरिक्त रकम असुलमा ध्यान दिएकाले सरकारी खजाना रित्तै हुँदै गएको हो । व्यापारीहरूलाई आफ्नो अतिरिक्त रकम असुली नेटवर्क मार्फत दबाब दिन थालेपछि व्यापारीहरूले पनि प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीको निर्देशनमा परिचालित नेटवर्कका मानिसहरू र विचौलियाको भनाइ मानेर अत्यधिक लाभ तस्करी मार्फत लिन थालेका हुन् ।

    पीडित व्यापारीहरूलाई आफू कहाँ पठाउनुस भनी नयाँ सडकलाई प्रमुख प्रशासक डिलालाम पन्थीको जवाफ प्रति वीरगञ्जका आम उद्योगी व्यापारी खिसिट्युरी गरिरहेका छन् । उनीहरू भन्छन् “ को बौलाहा होला जो आफू पीडित भएँ भनेर पन्थीका अगाडि जान्छ । पन्थी वा तिनका माथिका प्रशासकहरूकोमा आफू पीडित भएको भन्न जाने हिम्मत गर्छ । उनीहरूलाई व्यवसाय व्यापार गर्नु छैन र ? सरकार र उसका कर्मचारीसँग सबै किसिमको नियोग हुन्छ । सूचना संकलन गर्ने निकाय हुन्छ । उसले अनुसन्धान गर्ने हो ?”

    वीरगञ्ज भन्सार कार्यालयमा भाँडभैलो , कर्मचारीले जिम्मेवारी पूरा गर्न मानेन

    वीरगञ्ज भन्सार कार्यालयमा कर्मचारीहरूबीच भाँडभैलो भएको छ । भन्सार कार्यालयमा अतिरिक्त आम्दानी हुने  भन्सार मूल्यांकन शाखा तथा अन्य शाखामा लामो समयदेखि जरो गाडेर बसेका कर्मचारीहरू र  कम अवसर पाएका कर्मचारीहरूबीच मनमुटाव सुरु भएको छ । 

    उदाहरणका लागि वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले सूचना अधिकारीको जिम्मेवारी प्रकाश सुवेदीलाई दिए । प्रकाश सुवेदीले सूचना अधिकारीको जिम्मेवारी नसम्हाल्ने भन्दै जिम्मेवारीबाट पन्छिएका छन् । सुवेदीले सूचना अधिकारीको जिम्मेवारी नसम्हाल्ने भन्दै लामो समयदेखि फोन अफ गरी बसेका छन् । सुवेदी कहिले बिदा बस्छन् । कहिले के बहाना कहिले के बहाना गरे जिम्मेवारीबाट पन्छिरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस