Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २२ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत २२ बिहीबार

  • 672
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत २२ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २२ बिहीबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

    काठमाडौ ।  गत फागुन मसान्तसम्म मुलुकभित्र कूल रु १८ खर्ब ७२ अर्ब ८२ करोड बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । 

     

    नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु ११ अर्ब ७१ करोड रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई रु १४ अर्ब १४ करोड पुगेको छ ।

    याक एण्ड यती होटलको  साधारण सभा वैशाख १३ गते

    काठमाडौं । याक एण्ड यति होटल लिमिटेडले वैशाख १३ गते ४७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले काठमाडौं, दरबारमार्गस्थित आफ्नो रजिष्टर्ड कार्यालयमा अपराह्न ३ बजे सभा गर्न लागेको हो । 

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

    कम्पनीको तर्फबाट सञ्चालकको बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धमा समेत सभामा छलफल हुनेछ ।

    शेयर बजार : नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घट्यो , ३ अर्बको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घटेको छ । आज  ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन  ५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएको छ ।आज १३ मध्ये ५ वटा समूहको सूचक बढेका छन् ।
    यस दिन ३०२ कम्पनीको ६९ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्ट्स परेका छन् ।

    कुमारी बैंक र युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंकले ४ हजार ४४ कित्ता र युनाइटेड अजोड इन्स्योरेन्सले १६ हजार ५९३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । कुमारी बैंकले शेयरको मूल्य खुलाएको छैन भने युनाइटेड अजोड इन्स्योरेन्सले भने शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ उल्लेख गरेको छ । 

    यी शेयर खरीदका लागि सम्बन्धित कम्पनीको विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौ र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । युनाइटेड अजोड इन्स्योरेन्सको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्रै कम्पनीको केन्द्रीय कार्यालय, सुन्धारा, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । 

    पिपुल्स पावर कम्पनीको साधारण सभा चैत २० गते , ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गर्ने

    काठमाडौं ।  पिपुल्स पावर कम्पनीले दुई वर्षको साधारण सभा एकैपटक बोलाएको छ ।सभा लीसारा बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ ।सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

    यसपटक नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।चैत २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    आज एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९चैत २२ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।बैंकले चैत १६ गतेदेखि यो सेयर लिलामी बिक्री खुला गरेको हो ।

    मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब

    काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ ।

     

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ  प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ ।

    चालु आवको आठ महिना फागुन मसान्तसम्म चालु खाता १ खर्ब ६६ अर्ब बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष (आव)को आठ महिना फागुन मसान्तसम्म चालु खाता १ खर्ब ६६ अर्ब बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनामा आधारित देशको आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखिएको हो ।  

    सो  तथ्यांक अनुसार समीक्षा अवधिमा चालु खाता रु.१६६ अर्ब ८७ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५५ अर्ब २८ करोड घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा रहेको छ ।

    चालु आवको आठ महिना फागुन मसान्तसम्म  रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष (आव)को सुरुको आठ महिना फागुन मसान्तसम्म  रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितीमा यस्तो देखिएको हो ।  

    उक्त तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।  

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    कजरिया टाइल्सको नेपालमा पहिलो  ‘एक्सपिरियन्स सेन्टर’ को उद्घाटन

    काठमाडौं, नेपाल – ३५ वर्ष लामो विरासतका साथ भारतको नम्बर १ टाइल कम्पनीको रूपमा प्रख्यात कजरिया टाईल्सले काठमाडौंमा आफ्नो पहिलो  ‘एक्सपिरियन्स सेन्टर’ को भव्य उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।

    यो कार्यक्रम उत्कृष्टता र नवप्रवर्तनप्रति ब्रान्डको समर्पण देखाउदै कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए ।

    यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका लागि डिजाइन, रङ र टाइलहरूको विविधता प्रदान गर्दै ग्राहकहरूलाई रमाइलो अनुभव प्रदान गर्दछ । एउटै छानामुनि ग्राहकहरूले आठ सिरिज  र २० भन्दा बढी ‘लाइभ मोक अप’ बाथरूमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ ।

    लगानी सम्मेलनको अपेक्षित सफलताका लागि सरकारले विश्वासको वातावरण बनाउन आवश्यक

    काठमाडौं । सरकारले बैशाखमा हुने लगानी सम्मेलनका लागि भरमग्दुर प्रयास गरेपनि लगानी सम्मेलनले अपेक्षित सफलता प्राप्त गर्न नसक्ने सरोकारवाला निकायका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।सरकार र सरकारी निकायका पछिल्ला क्रियाकलापले लगानी सम्मेलनलाई असर पार्ने भएकाले उद्योगी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

    तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते आयोजना भइरहेको छ । उद्योगी व्यवसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्री वर्षमान पुनसँग चिन्ता चासो व्यक्त गरेका छन् ।

    सुनको मूल्यमा नयाँ कीर्तिमान , प्रतितोला एक लाख ३४ हजार

    काठमाडौँ ।  नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । 

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । 

     

    तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

    दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ ।

     

         राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग  लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गर्नुभयो ।

     

         प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो ।   उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गर्नुभयो ।

    ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत

    काठमाडौँ ।  लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको बोर्डको ५७औँ बैठकले विभिन्न चार आयोजनाका लागि रु ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको हो ।

     

           बैठकले एक सय ६६ मेगावाट क्षमताको सुपर तमोर आयोजनाका लागि रु ३४ अर्ब ५९ करोड, ४२ मेगावाट क्षमताको अपर मोदी–ए आयोजनाका लागि रु १० अर्ब आठ करोड, दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा कोहलपुर तथा बाणगंगा ९राइजेन इनर्जी सिङ्गापुर० का लागि रु २१ अर्ब १० करोड र एक सय ३९ दशमलव २ मेगावाट क्षमताको तल्लो मनाङ मर्याङ्दी जलविद्युत् आयोजनाका लागि रु ३३ अर्ब ४१ करोड लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्याङ्दी आयोजनामा विदेशी लगानी स्वीकृत भएको हो ।

    वाइडबडी खरिदमा तत्कालीन पर्यटनमन्त्री समेत ३२ जना उपर अख्तियारद्वारा करिब डेढ अर्बको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै संलग्न ३२ जना उपर १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई सो मुद्दामा प्रतिवादी बनाएको हो । 

     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस