Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’


नया सडक

२०८०, चैत २६ सोमबार

  • 537
    Shares

  • ‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

    काठमाडौँ । काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् ।  तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो । 

    अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने, आफूले भनेकै ठाउँमै गएर किन्नुपर्ने नियम बनाएका छन् । त्यो बाध्यताको अन्त्य हुनुपर्छ ।” 

    उहाँले एक त अभिभावकले शुल्ककै मार खेपिरहेकै बेला भनेकै ठाउँमा किताब, पोसाकलगायतका सामान किन्न लगाउनु गलत कार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिबका छोराछोरीले जसोतसो रकम जुटाएर पढ्न आएका हुन्छन् । यहीँबाट नै किन्नुपर्छ भन्ने नियम व्यापारिक प्रायोजनले गरिएको कामजस्तो देखियो जुन खराब हो । महानगरपालिकाको काम स्वागतयोग्य छ ।”

    शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालयमा कमिसनको चक्कर अन्त्य हुनुपर्ने तर्क गर्नुहुन्छ । उहाँले भन्नुहुन्छ, “पोसाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री सामानमा दुवै निजी तथा सरकारी विद्यालयमा कमिसनको चक्कर बेठीक छन् । किताब विद्यालयले बेच्ने होइन नी पसलेले बेच्ने हो । यो नियमको सबैले पालना गर्नुपर्छ ।” निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्षम डिके ढुङ्गानाले विद्यालयले आफैँ पाठ्यपुस्तक र पोसाक बिक्री गर्न नपाउने नियम पहिलादेखि नै भएको र सबैले पालना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो कार्य विद्यालयले गर्न पाउँदैनन् । पहिलादेखिको निर्णय हो । प्याब्सनअन्तर्गतका विद्यालयले त्यो बिक्री पनि गर्दैनन् ।  हाम्रो त स्पष्ट मान्यता छ ।”  

    त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका अध्यक्ष गुणराज मुक्तान भन्नुहुन्छ, “यो एकदमै राम्रो निर्णय हो । विद्यालयले अभिभावकलाई ग्राहक बनाउने होइन । विद्यालयले त ज्ञान बाँड्ने हो, ज्ञान प्रदान गर्ने ठाउँमा व्यापार गर्न थालेको देखिन्छ । यो नियन्त्रणका लागि यो गरिएको कदम राम्रो छ । अभिभावकले आफ्ना बच्चाका लागि विद्यालयबाट नै किन्नुपर्ने नभई खुला बजारबाट जहाँ सस्तो र सुलभरुपमा पाइन्छ त्यहीँ किन्न पाउनुपर्छ ।”

    सबै विद्यालयले शैक्षिक सत्र २०८१ का लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा सूचीकृत भएका थप पाठ्य सामग्री मात्र प्रयोग गर्नुपर्ने, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पाठ्यक्रम विकास केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका वा पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाले प्रधानाध्यापकले स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, शैक्षिक सामग्रीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत बताएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस