नेपाल राष्ट्र बैंकले देशका विभिन्न ६० वटा केन्द्रहरूबाट नियमित रूपमा मूल्य सङ्कलन गर्ने गर्छ।त्यस्ता केन्द्रहरू ग्रामीण र सहरी तथा भूगोलका आधारमा पनि मिलाएर तय गरिएको राष्ट्र बैंकले सार्वजनिक गरेको विधिमा उल्लेख छ।त्यस्ता स्थानबाट कुल ४९६ वटा वस्तु तथा सेवाको मूल्य सङ्कलन हुने गर्छ। तीमध्ये ४०२ वटा वस्तु हुन् भने ९२ वटा सेवा हुन्।नेपालको कुनै पनि घरपरिवारले औसतमा गर्ने खर्चका आधारमा ती वस्तु तथा सेवाहरूको भार तोकिएको हुन्छ।सोही भारका आधारमा नयाँ सङ्कलित मूल्यलाई राखेर तुलनात्मक विश्लेषण गरिने र कुन वस्तुमा कति प्रतिशत मूल्य बढ्यो भनेर निकालिने अधिकारीहरू बताउँछन्।
राष्ट्र बैंकले सुरुमा विसं २०१४ सालदेखि काठमाण्डू उपत्यकामा १५ वटा वस्तुको मूल्य सङ्कलन गरेर पाक्षिक रूपमा प्रकाशित गर्न थालेको थियो।
विसं २०१९ सालदेखि तराई र २०२० सालदेखि पहाडमा पनि त्यस्तो मूल्य सङ्कलन र प्रकाशन थालियो। तर त्यस बेला अहिलेको जस्तो वस्तु तथा सेवाको भार तोकेर त्यसका आधारमा मूल्य निकालिँदैन थियो। आर्थिक वर्ष २०२९/३० मा पहिलो पारिवारिक बजेट सर्वेक्षण गरेर वस्तु तथा सेवाको भारको आधारमा मूल्य प्रकाशन गर्ने थालेको राष्ट्र बैंकले हालसम्म पाँचवटा त्यस्ता सर्वेक्षण गरिसकेको छ।प्रत्येक १० वर्षमा हुने त्यस्तो सर्वेक्षणलाई पाँच(पाँच वर्षमा गर्नुपर्ने माग पनि उठ्दै आएको छ।