Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै


नया सडक

२०८०, चैत २८ बुधबार

  • 612
    Shares

  • गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै

     

    बलेवा । गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै गएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ ।

     

    मङ्गलबार साँझ ५ः३० बजेको थियो । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी बागलुङ नगरपालिका–३ र ९ को बीचमा पर्ने काठेखोला आसपासका वन क्षेत्रमा भइरहेको आगलागी नियन्त्रण गरिरहेको अवस्थामा भेटिनुभयो । प्रहरी र स्थानीय सर्वसाधारणसँगै वनका कर्मचारी आगो नियन्त्रणको प्रयास गरिरहेका थिए । 

     

    काठेखोलाको किनारबाट सुरु भएको आगोले बागलुङ नगरपालिकाका दुवै वडाका बस्तीहरु ताकिरहेको देखिन्थ्यो । बस्ती जोगाउन सर्वसाधारण र सरोकारवालालाई हम्मेहम्मे परिरहेको थियो । मङ्गलबार एकै दिन जिल्लाका दर्जन बढी वनजङ्गल क्षेत्रमा आगलागी भएको थियो । केही ठाउँमा आगो नियन्त्रणमा आएको छभने केही जङ्गल क्षेत्रमा अझै आगो फैलिएको छ । 

     

    बागलुङ–१० भकुण्डे, ताराखोला गाउँपालिका–१ र २, गलकोट नगरपालिका–९ का वनक्षेत्र र बागलुङ–१४ को कैयामुनिको भिर क्षेत्रलगायत वन तथा पाखाहरुमा आगलागी भएको डिभिजन वन अधिकृत पन्थीले जानकारी दिनुभयो । गर्मी सुरु भएसँगै जङ्गल क्षेत्रमा आगलागी सुरु भएको उहाँको भनाइ छ ।

     

    आगलागीका कारण बस्तीहरु समेत जोखिममा परेका भन्दै बागलुङमा रहेका पाँच सय ४० सामुदायिक वनमध्ये अधिकांश वन क्षेत्रमा आगलागी भइसकेको पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी याम सुरु भएलगत्तै बागलुङमा आगलागीका घटना बढिरहेका छन् ।

     

    बढ्दो आगलागीका कारण बागलुङको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढिरहेको छ । प्राय ः दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा समेत आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही बढी देखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

     

    सोमबार मात्रै ताराखोला–२ सिलेस्थित नुनथला सामुदायिक वनमा आगलागी हुँदा स्थानीयका गोठ जलेका छन् । सिलेको गुरासेटोल बस्ने फुलकुमार दर्जीको दुईतले कच्ची घर र एतले कच्ची गोठ जलेको छ । सोही ठाउँकी ईश्वरा दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको प्रहरीले जनाएको छ । ईश्वराको गोठमा रहेका एक बाख्रा र भैँसी मरेका छन् । 

     

    साथै नरबहादुर दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको छ । अमृतालाल दर्जीको एकतले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएका छन्भने यामबहादुर दर्जीको एकतले कच्ची गोठ जलेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बढ्दै गएको आगलागीका कारण जङ्गल क्षेत्रका रहेका जडीबुटी पनि मासिँदै गएका छन् ।रासस

     

    प्रतिक्रिया दिनुहोस