
काठमाडौं । प्रचलित कानून बमोजिम सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने शुल्कलाई राजस्व भनिन्छ। राजस्व कुनैपनि शर्त, ईच्छा वा आकाङ्क्षाबिना नै तिर्नुपर्ने शुल्क हो। कुन शीर्षकमा के कति राजस्व तिर्ने भन्ने विषयमा सरकारले निश्चित मापदण्ड बनाइएको हुन्छ । त्यसैको आधारमा राजस्व भुक्तानी गर्नुपर्दछ।
सरकारले राजस्व प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संकलन गर्ने गर्दछ । सम्पत्ति कर, आयकर, बिक्री कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, दस्तुर, सेवा शुल्क, बहाल कर आदि शीर्षकमा राज्यले राजस्व असुली गर्छ ।
व्यक्ति वा संस्था स्वयंले प्रत्यक्षरुपमा तिर्ने आयकर, सम्पत्ति कर आदिलाई प्रत्यक्ष कर भनिन्छ । त्यसैगरी करको भार पर्ने र कर तिर्ने व्यक्ति फरक फरक हुने खालको करलाई अप्रत्यक्ष कर भनिन्छ । अप्रत्यक्ष कर कुनै व्यक्ति वा संस्थाले एकमुष्ठ रुपमा तिरेको हुन्छ । तर, त्यसको भार उपभोक्ता वा सेवाग्राहीमाथि पर्दछ । मूल्य अभिवृद्धि कर अप्रत्यक्ष करको उदाहरण हो ।
कर र गैर कर राजस्व ?
भन्सार महशुल, अन्तशुल्क, आयकर, मूल्य अभिबृद्धि कर, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर, सवारी साधन कर, बहाल कर, सम्पत्ति कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर, प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा सेवा शुल्क, प्रशासनिक दस्तुर मालपोत, रोयल्टी, सेवा शुल्क, रोयल्टी लाभांश, साँवा ब्याज, सार्वजनिक सम्पत्तिको विक्रिबाट प्राप्त आय तथा सरकारले कानून बमोजिम लगाउने सबै किसिमका दस्तुर राजस्वको परिभाषा भित्र पर्दछन्।
जसमध्ये व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष तिर्नुपर्ने करबाहेकका सबै दस्तुर तथा शुल्कलाई गैर कर राजस्व भनिन्छ । जरिवाना, सेवा शुल्क, प्रशासनिक दस्तुर लगायत विभिन्न शीर्षकमा सरकारले प्राप्त गर्ने आय गैर कर राजस्वको उदाहरण हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij