Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

रुपन्देहीको रोहिणी खोला किनारमा आयल निगमको पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया  सुरु

रुपन्देहीको रोहिणी खोला किनारमा आयल निगमको पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया  सुरु

  • काठमाडौं ।  नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माणको प्रक्रिया  सुरुवात गरेको छ ।  रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमिन पुर्ने कार्यको थालनी थालिएको हो ।

    ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा आज त्यसको  शुभारम्भ गरे । 

    रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३.५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ।  निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ । 

    कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै। निगमले स्थानीयको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिए। ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे । 

    करिब रु तीन अर्ब लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको  भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मटितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण गरिनेछ ।  भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सर्नेछ । 

    आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने जानकारी दिए। परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । आगामी मङ्सिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij