Logo

May 03 2024 | २०८१, वैशाख २१गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, वैशाख ७ शुक्रबार

  • 411
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  वैशाख ७ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    images

    प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

    काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । 

     

    सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ ।”

    सिटिजन बैंक इन्टरनेशनलको रू. १ अर्ब २१ करोड भन्दा बढी नाफा

    काठमाडौं । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।यो नाफा गत आवको यसै अवधिको तुलनामा भने समान्य अर्थात १ दशमलव ९९ प्रतिशत  कमि आएको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ५ दशमलव २३ प्रतिशत वृद्धि भएको छ  भने खुद ब्याज आम्दानी ३ दशमलव २५ प्रतिशत घटेको छ । प्रतिशेयर आम्दनी गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । चुक्ता पूँजी रू. १४ अर्ब २० करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ७ अर्ब ७ करोड र रिटेन्ड अर्निङमा रू. १ करोड ८९ लाख सञ्चिती गरेको छ ।

    गोर्खाज फाइनान्सको खुद नाफा ४०.०६ प्रतिशतले घट्यो

    काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४०.०६ प्रतिशत कम हो । चैतसम्म फाइनान्सको इम्पेयरेन्च चार्ज २ करोड १ लाख रुपैयाँ रहेको छ ।  २५ करोड ४७ लाख रहेको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यस फाइनान्सको निष्क्रिय कर्जा दर ६.७७ प्रतिशत विन्दुबाट बढेर १४.५० प्रतिशत पुगेको छ ।हाल यस फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार  रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५१.७१ रुपैयाँ छ ।

    हुलास इन्फ्रा लिमिटेडको  साधारण सभा  वैशाख २२ गते , आइपीओ जारी गर्ने प्रस्ताव

    काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

    लुम्बिनी विकास बैंकको खुद नाफा २६.९१ प्रतिशतले घट्यो

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यसै अवधिको तुलनामा २६.९१ प्रतिशतले कम हो ।बैंकको खुद ब्याज आम्दानी ७.१५ प्रतिशतले घटेर १ अर्ब २८ करोड १९ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा भने २.६१ प्रतिशतबाट बढेर ६६ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।लुम्बिनीको खराब कर्जा दर भने ३.७६ प्रतिशतबाट घटेर ३.६९ प्रतिशतमा झरेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।यस बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७७ पैसाले घटेर १२ रुपैयाँ ९७ पैसामा झरेको छ ।

    सिद्धार्थ बैंकको नाफा १३.०२ प्रतिशतले बढ्यो

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज पनि घट्दा नाफामा सुधार आएको हो । ६ अर्ब ७ करोड ६१ लाख रहेको खुद ब्याज आम्दानी यसअवधिसम्म आइपुग्दा घटेर ६ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । यसको इम्पेयरमेन्ट चार्ज भने २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा १४.४२ प्रतिशतले बढेको छ ।हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ ।प्रतिसेयर आम्दानी १.८६ रुपैयाँले बढेर १६।१० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८६.११ रुपैयाँ छ ।

    स्टान्डर्ड चार्टर्ड बैंकको  खुद नाफा ६.२४ प्रतिशतले घट्यो

    काठमाडौं  । स्टान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा पनि सामान्य गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।बैंकको खुद ब्याज आम्दानी ११.०६ प्रतिशतले घटेर ३ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ ।बैंकको खरब कर्जा पनि ०.९० प्रतिशतबाट बढेर २.१४ प्रतिशत पुगेको छ । जसका कारण पनि नाफामा असर परेको छ । चैत मसान्तसम्ममा भने यसको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३१ पैसाले घटेर ३४ रुपैयाँ ६ पैसामा झरेको छ ।

    ग्लोबल आइएमई बैंकले कमायो रू. ३ अर्ब ३० करोड भन्दा बढी नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ३० करोड भन्दा बढी नाफा  कमाएको छ ।चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव ४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ । गत कम्पनीको इम्पेयरमेन्ट चार्ज रू।२ अर्ब ७१ करोड रहेकोमा चालू आवमा बढेर रू. ५ अर्ब २६ करोड पुगेको छ । जसको कारण कम्पनीको सञ्चालन नाफा २२ दशलमव २८ प्रतिशत घटेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।कम्पनीको चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोड रहेको छ भने तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू. २२ अर्ब ४३ करोड भन्दा बढी सञ्चिती गरेको छ ।

    काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई  काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न निर्देशन दिएको छ ।

    द्रुतमार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न शुक्रबार बसेको समितिको बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।

     यसैगरी  दार्चुला–टिङ्कर सडक लगायतका सेनाले बनाउँदै गरेका सडकहरूलाई पर्याप्त बजेट उपलब्ध गराउन पनि निर्देशन  दिँदै  समितिले उक्त क्षेत्रमा काम गर्ने सबै सैनिकहरूलाई जोखिम भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दियो ।

    चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिए

    काठमाडौँ । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएको जनाएको छ ।

    चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले सार्वजनिक गरेका हुन् ।

    श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यवसायिक दक्षता र ६६ जना उच्च दक्ष भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

    काठमाडौं । सुरक्षा जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद गरिएको छ । 

    शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट उक्त परिमाणको सुन बराम भएको हो । 

    भारतीय महिला सहिना प्रविणबाट सो सुन बरामद भएको छ । प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर राखिएको अवस्थामा सो सुन फेला परेको छ ।

    तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ ।

    यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ ।

    अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

    ढोरपाटन । बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो । 

     

    अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताउनुभयो ।

    माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो

    काठमाडौँ ।सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ ।

     

         विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । 

     

    अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो ।

    स्वास्थ्य शिक्षा क्षेत्रमा निजी लगानी गर्न नदिने भनाइको उद्योगी व्यवसायी अगुवाहरूद्वारा प्रतिरोध

    काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्न नहुने भनाइको उद्योगी व्यवसायीका अगुवाहरूले प्रतिरोध गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

    फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र लगानी सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताए ।स्वास्थ्य, शिक्षा र स्वास्थ्य उपकरण उत्पादनको क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजस्व वृद्धि र मुलुकभित्रै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा अधिकांश वाणिज्य बैंकहरूको नाफा १३ प्रतिशत बढीले घट्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्मको त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकहरूको नाफा करिब साढे १३ प्रतिशतले घटेको छ ।माघ फागुन र चैत मसान्तसम्म बैंकहरूको नाफा १३.४७ प्रतिशत घटेर ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपैयाँ आर्जन भएको हो । 

    गत आवको सोही अवधि चैत मसान्तमा वाणिज्य बैंकहरूको ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपैयाँ खुद नाफा भएको थियो ।समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा ह्रास भएकोे छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर भएको देखिएको हो ।

    मौजुदा अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि एनपीएल बढेर गएको बैंकरहरू बताउँछन् । खराब कर्जा अनुसारको रकम प्रोभिजिनिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।कृषि विकास बैंकको ९७.२२ प्रतिशत बढेर २ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा भएको छ ।

    आजको मौसम बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

    काठमाडौँ ।  हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी  भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस