Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 186
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २० बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआइसी एसिया बैंकको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २१० रुपैयाँ तोकेको छ ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख २० गते) बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

    सिंगटी हाइड्रो इनर्जीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

    शेयर बजार : नेप्से परिसूचक ७.३१ प्रतिशतले घटेर  १९९८.९६ विन्दुमा , ४ अर्ब १३ करोडको कारोबार

    काठमाडौं ।  आज नेप्से परिसूचक ७.३१ प्रतिशतले घटेर  १९९८.९६ विन्दुमा आएको छ । आज ४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ वटा समूहको सूचकमात्र बढेको छ । यस दिन माइक्रोफाइनान्स समूहमा क्रेज देखिएको छ ।
    यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज पोखरा फाइनान्स र गोर्खाज फाइनान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    आइएमई लाइफको ३४.५० प्रतिशत लाभांश घोषण

    काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेको छ ।सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    नेपाल फाइनान्सको करिब ११ लाख कित्ता सेयर लिलामीमा खुला

    काठमाडौं ।  नेपाल फाइनान्सले आजदेखि १० लाख ९४ हजार ४७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक  १९ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १९.५० विन्दुले बढेको छ । यससँगै सूचक २०२५.७८ अंकमा आएको छ । ४६ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको ८ हजार १ सय ८५ कित्ता सेयर कारोबार भएको छ । 

    ५७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।

    प्रभु इन्स्योरेन्सको साधारण सभा आज

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा बिहीबार बस्दैछ । कम्पनीको सञ्चालक समितिको ४३४औं बैठकको निर्णयअनुसार सभा काठमाडौं तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।
    सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
    सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

    ३५ लाख ७४ हजार बढी सेयर कारोबारमा सक्रिय,कहिले बढ्ला सेयर बजार ?

    काठमाडौं । विगत तीन वर्षयता सेयर बजार निरन्तर ओरालो यात्रामा छ । कुनै समय ३२ सय अंकमा पुगेर लगानीकर्तालाई हर्षित बनाएको बजार पछिल्लो तीन वर्षयता निरन्तर घटिरहेको छ । जसले लगानीकर्ताहरूलाई बजारप्रतिको आकर्षण घटाइरहेको छ ।

    सेयर बजार बढेको समयमा लगानी गर्नेको आकर्षण मात्रै होइन डिम्याट खाता खोलेर सर्वसाधारण सेयर (आईपीओ) भर्नेको संख्या पनि उत्तिकै बढी थियो । तर, अहिले बजारको विषयमा चासो दिनेहरूको संख्या सीमित छ । त्यस कारण पनि बजार बढ्न सकेको छैन भने सेयर कारोबार पनि न्यून थालेको छ । अहिले २ हजारको हाराहारीमा नेप्से परिसूचक छ ।सिडिएस एण्ड क्लियरिङकाअनुसार हालसम्म ६२ लाख ४२ हजार ६४३ जनाले डिम्याट खाता खोलेका छन् । मेरो सेयरमा ५३ लाख दुई हजार ५९९ वटा खाता खुलेकोमा ३५ लाख ७४ हजार ४२५ वटा कारोबारमा सक्रिय छन् ।

    अहिले निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार कहिले बढ्ला भन्ने उत्सुकता र चासो लगानीकर्ताहरूमा छ । धेरैले बजार बढ्नका लागि सेयर बजारमा खुकुलो नीति अपनाउनु पर्ने बताइरहेका छन् भने अहिले भएका केही नीतिहरू पनि परिवर्तन गर्नु पर्ने धारणा सरोकारवाला राखिरहेका छन् ।

    सुनको मूल्य प्रतितोला रु  २ हजारले बढ्यो , प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १६ सय ४५ रुपैयाँ कायम भएको छ ।

    सर्लाहीमा आगलागीः विष्णु गाउँपालिका—१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

    बरहथवा  । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । 

    आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो । 
    दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताउनुभयो ।  ‘‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो”, उहाँले भन्नुभयो ।

    सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ ।

    प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारितभएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गर्नुभयो । 

    मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको  र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राख्नुभयो ।

    राष्ट्रपतिद्वारा बैशाख २८ गते संसद  अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते संसद अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्का्े बैठकबाट  निर्णय भए अनुसार संसद अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ । संसदको अधिवेशन बैशाख २ गते अन्त्य गरिएको थियो ।

    यूएनडीपीका एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक र अर्थमन्त्री बीच भेटवार्ता

    काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले   अर्थमन्त्री वर्षमान पुनसँग भेटेर  जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गरेकी छिन् ।

    यूएनडीपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठकमा भाग लिन नेपाल आएकी विगनाराजाले  बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।

    यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्‍गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमण  गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिइन् ।

    विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको  सरुवा

    काठमाडौं । सरकारले  विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको  सरुवा गरेको छ । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।

    संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।

    सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केही लाई  जिल्ला समन्वय समितिमा जिम्मेवारी दिइएको छ ।  केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा  गरिएको छ ।

    प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताउनुभएको छ । 

     

    हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताउनुभएको हो । 

     

    पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति दाहाललाई भेट गर्नुभएको हो ।

    नेपाल र भारत महालेखापरीक्षक कार्यालयबीच  लेखापरीक्षणमा सहकार्य गर्ने सम्झौता

    काठमाडौं । नेपाल र भारत महालेखापरीक्षक कार्यालयबीच लेखापरीक्षणमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय महालेखापरीक्षक गिरिशचन्द्र मुर्मु र  महालेखापरीक्षक तोयम रायाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    मुर्मुले रायासँग उनको कार्यालयमा भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा दुवैले सो सम्झौतामा हस्ताक्षर गरेको भारतीय पक्षबाट सामाजिक सञ्जाल मार्फत जनाइएको छ ।

    आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट

    काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजिपी कृष्ण मूर्तिबीच आज प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

     

    भेटघाटका क्रममा उहाँहरुबीच आपसी सहयोग, सूचनाको आदानप्रदान तथा समन्वयलगायतका विषयमा छलफलसमेत भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार यसअघि आइजिपी कृष्ण मूर्तिसमेत छ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको साङ्गठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवं अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

    काठमाडौँ  । समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज देशभर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको रुपान्तरण गर्ने सरकारको योजना छ । सरकारले सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सूचना प्रविधिको विकासबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव भएको बताउनुहुन्छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस र विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्मासँग राष्ट्रिय समाचार समिति (रासस)का आलेख शाखा प्रमुख कृष्ण अधिकारी र समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः

    नेपाल राष्ट्र बैंकको कारबाहीमा ६ बैंक , राजेन्द्र खेतानलाई १० लाख जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कारबाहीमा विभिन्न ६ वटा बैंक परेका छन् । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८÷०८१ को तेस्रो त्रैमासिकमा  प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई कारबाही गरेको हो ।

    राष्ट्र बैंकबाट जारी निर्देशन पालन गरी कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको, बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकाले प्राइम बैंकका सीईओलाई राष्ट्र बैंक ऐनअनुसार नसिहत दिइएको जनाइएको छ ।

    नकली भ्याट बिल बनाइ कर छली गरेको आंशका भइरहेको अनुसन्धानबाट हालसम्म ६ अर्ब बढी कर छली भएको ठहर, थप अनुसन्धान हुँदै

    काठमाडौं । आन्तरिक राजस्व विभागले गर्दै गरेको अनुसन्धानबाट ६ अर्ब रुपैया करछली ठहर भएको जनाएको छ ।नकली भ्याट बिल खरिद बिक्रीबारे करिब १० अर्ब रुपैयाको कर छली भएको विषयमा गरिँदै गरिएको अनुसन्धानको ७५ प्रतिशत काम पूरा हुँदा ६ अर्ब छली भएको ठहर गरिएको हो ।

    कर छल्ने अधिकांश व्यवसायिक कम्पनीहरू  सरकारी तथा अर्धसरकारी निकायलाई मालसमान आपूर्ति गर्दै आएका कम्पनी रहेका छन् ।एक हजार नौ सय ८६ व्यवसायीको नक्कली भ्याट बिललाई अनुसन्धानमा तानेर आन्तरिक राजस्व विभागले अनुसन्धान गरिरहेको छ ।विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी सार्वजनिक गरे अनुसार ७५ प्रतिशत अनुसन्धान टुंगिएको छ ।

     

     
     
     

     

     

     
     
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस