काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णको बिदाइ र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत एकसाथ गरिएको छ । सो बिदाई तथा स्वागत कार्यक्रम अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा.रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारीहरुको सहभागितामा गरिएको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । मरासिनी यसअघि पनि अर्थ सचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताए ।
कार्यक्रममा सचिवद्वय पुष्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए । आफूहरू विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एक अर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्व सन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।