काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्नेबताउँदै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नु पने बताए ।
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।
लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।
नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिंचाइलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।