Logo

Jul 08 2025 | २०८२, असार २४गते

Jul 08 2025 | २०८२, असार २४गते

images

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ :प्रधानमन्त्री

  •  

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो । 

     

    राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुननसक्ने भएकाले रचनात्मक रूपान्तरण आवश्यक परेको बताउनुभएको हो ।

     

    “सोह्राँैं योजनाको दस्तावेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौतीहरू स्पष्टरूपमा पहिचान गरेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “योजनाले पहिचान गरेका मूलभूत सवाल तथा चुनौतीहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् क्रमशः सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।”

     

    परम्परावादी कार्यहरूमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका लक्ष्य हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,“आवधिक योजनाले रूपान्तरणका क्षेत्रमा तय गरेका प्रमुख कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । अनिमात्र ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोच पूरा गर्न सकिन्छ ।”

     

    सोह्रौँ योजनाले अर्थतन्त्रको वर्तमान अवस्थाको वास्तविक चित्रणसहित भावी कार्यदिशा र सोको कार्यान्वयनका लागि आवश्यकपर्ने रणनीति तय गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले योजनाअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत–साधनको यथार्थ अनुमान पनि समावेश गरिएको उल्लेख गर्नुभयो । उहाँले योजनाको सफल कार्यान्वयनका लागि समग्र सोच र उद्देश्यमा आधारित विषय, क्षेत्रगत सवाल, रूपान्तरणका रणनीति तथा प्रमुख कार्यक्रम तय गरिएको बताउनुभयो ।

     

    “योजनामा उल्लेख भएका रणनीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबैको सामूहिक जिम्मेवारी र उत्तरदायित्व रहन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमदेखि नै क्रमिक रूपमा त्यस्ता कार्यक्रमलाई समाहित गरी कार्यान्वयनमा ल्याउने छ ।” उहाँले सातै प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रलगायत विकासका सबै साझेदार निकायहरूले पनि आ–आफ्नो तहबाट सोह्रौं योजना कार्यान्वयन पक्षलाई विशेष जोड दिने आफूले विश्वास लिएको बताउनुभयो ।

     

    योजनाले लिएको लक्ष्यप्राप्तिका लागि प्रारम्भिक चरणमा अधिक स्रोतसाधन र पुँजीगत लगानीको आवश्यकतापर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारीरूपमा आन्तरिक स्रोत परिचालन गर्नुपर्छ । साथै वित्तीय अनुशासन कायम गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम् सदुपयोग गर्नुपर्ने देखिन्छ ।” उहाँले लगानी परिचालनका लागि सार्वजनिक क्षेत्रको साथै निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, सार्वजनिक–निजी साझेदारी र वैदेशिक  सहायता तथा वैदेशिक लगानीलाई जोड दिनुपर्ने बताउनुभयो ।

     

    आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटका बीचको सामन्जस्यताले मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउँदै उहाँले तीनै तहका सरकारका कार्यक्रमहरूमा एकरूपता कायम गरी कार्यान्यवनमा प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग, सहकार्य र साझेदारी रहने विश्वास व्यक्त गर्नुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij