Logo

Oct 31 2024 | २०८१, कात्तिक १५गते

images

तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 957
    Shares

  • तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

    सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए । मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।

    मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अनुशरण गर्न नेपाल प्रहरीलाई आग्रह गरे । उनले मातृभाषा प्रयोगकर्ता सेवाग्राहीलाई सकेसम्म सेवाग्राहीकै भाषामा सेवा प्रदान गर्न पनि निर्देशन दिए । उनले ‘सय अपराधी छुटोस् तर एकजना पनि निर्दोष व्यक्ति नपरोस्’ भन्ने मान्यतालाई गहिरो रूपमा आत्मसात गर्दै काम गर्न आग्रह गरे । उनले ठोस तथ्य, प्रमाणको आधारमा मानव अधिकारको पूर्ण संरक्षण हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

    उनले स्रोत, साधन, प्रबिधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपतकालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए । उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले ७२ वटा प्रहरी इकाइ भवन निर्माण सुरु गरेको जानकारी दिए । जसमध्ये ६२ वटा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र १० वटा निर्माणाधीन रहेको उनले बताए । उनले प्रहरी इकाई भवन निर्माणमा प्रदेश सरकारले ३ अर्व ४७ करोड २२ लाख लगानी गरेको पनि जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस