Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

  • त्रिवेणी (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । निकुञ्ज र नवलपुर पर्यटन समितिबीच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जीप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जीपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो ।

    आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पलटाइगर–मुण्डा ताल–देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट–मुण्डा ताल–टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिनुभयो । उहाँका अनुसार पूरै दिनको भ्रमण मार्ग घडियाल प्रजनन केन्द्र पुग्नेका लागि मात्र प्रदान गरिएको छ । जसअन्तर्गत घडियाल प्रजनन केन्द्र हुँदै प्रमुख वनमार्ग भएर अमलटारी फर्किने अनुमति प्राप्त भएको महतोले बताउनुभयो । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीका लागि सातवटा सवारीसाधनलाई अनुमति दिइएको जनाउँदै उहाँले समितिले प्रयोग गर्ने सवारीसाधनको विवरणसमेत निकुञ्जले स्वीकृत गरेको उल्लेख गर्नुभयो । अध्यक्ष महतोका अनुसार सवारीसाधनमा ‘भेइकल ट्र्याकिङ एण्ड मोनिटरिङ सिस्टम’ (जिपिएस) अनिवार्य जडान गर्न निकुञ्जले अनुरोध गरेको छ । निकुञ्जको निर्देशनअनुसार शीघ्र सवारीमा जिपिएस जडान गरिने बताउँदै उहाँले निकुञ्जसँगको सम्झौतामा आगामी मङ्सिर १५ गतेभित्र सवारीमा जिपिएस जडान गर्ने समयसीमा तोकिएको जानकारी दिनुभयो । नवलपुर पर्यटन समितिमार्फत नवलपुरको मार्ग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्न चाहने पर्यटकलाई अमलटारीघाटस्थित नारायणी नदीमा डुङ्गाबाट तारेर निकुञ्ज क्षेत्रमा जीप सफारी गराइने छ ।

    समितिले स्वीकृत प्राप्त सवारी भने नदीपारि निकुञ्जमै राख्ने छ । नवलपुरबाट निकुञ्जमा जीप सफारी गर्ने पर्यटकले नारायणीमा बोटिङको आनन्दसमेत लिन पाउनेछन् । नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारीको अनुमतिले यहाँको पर्यटनमा थप चहलपहल बढ्ने पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो । नवलपुरको मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि उपयुक्त गन्तव्य रहेको भन्दै उहाँले यहाँका सामुदायिक वनमा जीप सफारी सञ्चालन रहिरहेको अवस्थामा चालु आवमा यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “यहाँका सामुदायिक वन गैँडा अवलोकनका लागि प्रख्यात छ, अब निकुञ्ज जान्छु भन्ने पर्यटकसमेत अमलटारी हुँदै घुम्न पाउने हुँदा पर्यटकीय गतिविधि पक्कै थप बढ्नेछन्”, गुरौले भन्नुभयो । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि बढ्ने र रोजगारीका अवसर सृजना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij