काठमाडौं । सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा यो सम्मान प्रदान गरेको हो ।
राष्ट्रिय सभागृहमा आयोजित विषेश समारोहमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांक गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।
सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि कंसाकार अहिले १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो । प्युठानका डा. शैलेन्द्र गिरी नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानि भएका छन् । वान प्वाइन्ट फाईनान्सियल सर्भिसेज्ले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ ।
त्यसैगरी मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राईभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट नीजि क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आइसिटी अवार्ड २०२४ जितेको छ ।