Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

कपडामा सुन लेपन गरी ल्याउने दुई भारतीय पक्राउ

कपडामा सुन लेपन गरी ल्याउने दुई भारतीय पक्राउ

  • काठमाडौं  । कपडामा सुन लेपन गरी ल्याउने दुई जना भारतीय पक्राउ परेका छन् ।उनीहरूलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन छन्।

    कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी सार्वजनिक गरे अनुसार उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौंमा ओर्लिएका थिए।  नियमित चेकजाँचको क्रममा शंकास्पद देखिएपछि प्रहरीले कुमार र गणेशनका कपडाहरू हेर्दा उनीहरूको कपडा जाँच गर्नेक्रममा सुनका लेपन लगाइएको फेला पारेको  थियो । 
    कुमारले लगाएको टिसर्ट, भित्री बस्त्र, जिन्स पाइन्ट लगायत कपडासहित सुन अन्दाजी दुई किलो ६०० ग्राम छ। गणेशनले लगाएको टिसर्ट, पेन्टी, जिन्स पाइन्ट कपडासहित सुन अन्दाजी दुई किलो ५०० ग्राम छ। प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै यस्तो थियो भनेर बयान दिएका छन्।

    पक्राउ परेका कुमार र गणेशन यसअघि पनि दुबई गइसकेका व्यक्तिहरू हुन्। सामान्य खालका कपडामा उनीहरू दुबई जाने–आउने गरेको थाहा पाएपछि प्रहरीले उनीहरूमाथि सोधपुछ गरेको थियो।सुन तस्करहरूले तस्करी गर्दा विभिन्न खालका तरिकाहरू अपनाउने गरेका छन्। 

    पछिल्लो समय दुबईबाट फर्किने कामदारहरूलाई काँचो सुनका औंठी, सिक्री लगायत लगाएर पठाउने गरेका छन्।  सुनलाई पगालेर कपडामा लेपन गरी ल्याउने क्रम पनि बढ्दो छ। 

    ढिक्का सुन सजिलै समातिने डरले तस्करहरूले नयाँ नयाँ उपाय अपनाउने  गरेको प्रहरीको भनाइ छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार चार महिनामा ८ करोड बढीको सुन बरामद भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij