
काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरमा जेठ महिनामा हेरफेर नहुने भएको छ ।सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि पुरानै राखेका हुन् ।सञ्चालनमा रहेका २० मध्ये तीनले बढाएका छन् भने तीनले घटाएका छन् ।
नेपाल बैंक, एभरेस्ट र्बैक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा मुद्दती निक्षेपमा दिने ब्याजदर सामान्य बढाएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर सामान्य घटाएका छन् ।
समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर जेठ महिनाका लागि घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेको थियो । जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।अधिक तरलता भएर राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम खिचिरहेको अवस्थामा केही बैंकहरूले आफ्नो स्थितिअनुसार ब्याजदरमा सामान्य घटबढ गरेका हुन् ।
केही बैंकलाई पूँजी कोषको दबाब छ । केहीलाई पर्याप्त रकमका कारण लागत घटाउनुपर्ने दबाब छ । केही बैंकमा कर्जाको माग बढेको छ । केहीमा माग नै छैन । यिनै विषयलाई मध्यनजर गर्दै बैंकले आफ्नो रणनीतिअनुसार जेठ महिनाका लागि ब्याजदर तय गरेका हुन् ।
दीर्घकालीन व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र अल्पकालीन मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूले अपनाएको देखिन्छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटिरहेका बेला आधार दर घटेर कर्जाको ब्याजदरमा पनि ऋणीलाई राहत हुने अवस्था आउँछ ।
कर्जाको माग न्यून रहनु र पूँजीगत खर्चको ‘सिजन’ रहेकाले ब्याजदर तत्काल बढिहाल्ने अवस्था नदेखिएको बैंकरहरूको भनाइ छ ।राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत बिन्दु हुनुपर्ने व्यवस्था गरेको छ ।
बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, कल निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्ने उनीहरूको भनाइ छ ।जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ । अर्कोतर्फ सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij